समाचार
ओलीलाई विस्तारै साइड लगाउने प्रचण्डको रणनीति !
माघ ८, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा आफूले भनेको नेतालाई बनाुउन सफल भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चर्चामा छन् । हरेक समय प्रधानमन्त्री केपी ओलीको अगाडि निरीह सावित हुँदै प्रचण्डले यसपटक आफ्नो गुटका अग्निप्रसाद सापकोटालाई सभामुख बनाइछाडे । सभामुख मात्र होइन, कांग्रेससँग वार्ता गरेर उम्मेदवार दिनबाट रोकेर साझा नेतासमेत बनाए ।
चार महिनासम्म ओलीसामु आफ्नो अडानबाट नगलेका प्रचण्डले विस्तारै उनलाई साइड लगाउने रणनीति अघि बढाएका छन् । त्यसका लागि उनले पूर्वएमाले समूहका वरिष्ठ नेताहरूलाई आफ्नो प्रभावमा पारिसकेका छन् । ‘वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम लगायतलाई प्रचण्डले आफ्नो ग्रिपमा राखेको रहस्य थाहा पाएपछि ओली प्रचण्डसँग गलेका हुन् । आफूलाई एक्ल्याइँदैछ भन्ने बुझेपछि ओलीले आफ्नो प्रधानमन्त्री पद यसपटक जोगाएका छन्,’ नेकपा स्रोतले भन्यो ।
राष्ट्रिय सभाको निर्वाचन र सभामुख निर्वाचित भएको घोषणापछि प्रचण्ड केही समय सांगठनिक गतिविधिमा सक्रिय हुने भएको बुझिएको छ । आगामी फागुन ३ गते ओली प्रधानमन्त्री भएको दुई वर्ष पुग्दैछ । संविधानमा दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने उल्लेख छ । त्यसैले फागुनपछि प्रचण्डलाई त्यो बाध्यकारी अवस्थाले रोक्ने छैन । ‘सम्भवतः कुनै एउटा इस्यु खडा गरेर प्रचण्डले ओलीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएर दलको नेताबाट हटाउने छन्,’ स्रोतले भन्यो ।
अहिले नेकपाको केन्द्रीय कमिटी र स्थायी कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा छन् । संसदीय दलमा ओलीका ८५ जना सांसद छन् । त्यसैले आगामी दिनमा आफू एकल अध्यक्ष बन्ने गरी प्रचण्डले गृहकार्य गरिसकेको बुझिएको छ । आफू अध्यक्ष बनेपछि उपाध्यक्ष वामदेव गौतम, प्रधानमन्त्रीमा माधवकुमार नेपाल र राष्ट्रपतिमा झलनाथ खनाललाई बनाउने आश्वासन प्रचण्डले दिइसकेको स्रोतको दाबी छ । यस्तो समीकरण भैंसेपाटीस्थित वामदेव गौतमको घरमा भएको प्रचण्डपक्षीय नेताहरूले बनाएको बुझिएको छ ।
त्यसैले सभामुख चयनसम्बन्धी विषयलाई लिएर नेकपाभित्र उत्पन्न तनाव अन्त्य भए पनि केपी ओली नेतृत्वको सरकारलाई निर्वाध रूपले काम गर्न दिइने सम्भावना भने न्यून भएको छ । प्रचण्डले चाहेका व्यक्तिलाई सभामुख बनाउने निर्णयपछि केपीविरोधीहरूको मनोबल निकै बढेको छ र प्रधानमन्त्री बदल्ने योजना उनीहरूले बनाएको बुझिएको छ ।


