समाचार
काठमाडौँको बौद्धमा गोली चल्यो
काठमाडौँको बौद्धमा आइतबार साँझ गोली चलेको छ । ज्यानमारा मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोकका विष्णु लामा तामाङलाई पक्राउ गर्न प्रहरीले गोली हानेको हो।
बौद्धस्थित जम्भुडाँडामा प्रहरीले तामाङलाई गोली हानेको हो । गोली लागेका तामाङ घाइते छन् । उनको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । हाल उनलाई वीर हस्पिटल पठाइएको थापाले बताए ।
प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ ।
त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिलाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।



