समाचार

नेपाली शान्ति सेनाकै एयरबेसमा मिसाइल प्रहार

काठमाडौं / अमेरिकासँग तनाव बढिरहेका बेला इरानले बुधबार बिहान इराकको इर्बेलस्थित अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ। उक्त एयरबेसमा नेपाली शान्ति सेना पनि खटिएका छन्। इराकस्थित दुई अमेरिकन एयरबेसमा २२ वटा मिसाइल प्रहार गरेको इरानले नेपाली सैनिक खटिएको सिटी अफ इर्बेलस्थित एयरबेसमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। त्यस्तै अद असद एयर बेसमा १७ वटा मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मिसाइल आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक नभए पनि त्यहाँ रहेका नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। ‘नेपाली शान्ति सैनिक खटिएकै एयरबेसमा इरानले मिसाइल आक्रमण गरेको छ तर नेपाली शान्ति सैनिक सुरक्षित छन्,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने। उक्त एयरबेसको एउटा क्षेत्रमा अमेरिकी सैनिकले सुरक्षा दिइरहेको र अर्काे क्षेत्रमा नेपाली शान्ति सैनिक रहेको पाण्डेले जानकारी दिए। इराकमा प्रमुख सेनानी (कर्नेल) को नेतृत्वमा ७७ जना शान्ति सैनिक खटिएका छन्।

अमेरिकी सुरक्षा फौजले शुक्रबार ड्रोन आक्रमणबाट इराकमा इरानी सैन्य फोर्सका कमान्डर जनरल क्वासिम सुलेमानीको हत्या गरेको बदलामा इरानले अमेरिकी सैन्य बेसमा आक्रमण गरेको हो। अमेरिकी सैन्य बेसमा इरानले निरन्तर मिसाइल आक्रमण गरेपछि नेपाली सेनाले अनमिन मिसनअन्तर्गत किर्कुक र इर्बेलस्थित युएन बेसमा तैनाथ नेपाली गार्ड युनिटलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ। संयुक्त राष्ट्रसंघ मातहत रहेका उनीहरुलाई राष्ट्रसंघले ‘नो मुभमेन्ट’को निर्देशन दिएको छ। अहिले हाम्रा सैनिक सुरक्षित अवस्थामा छन्। उनीहरुलाई थप सुरक्षा सजकता अपनाउन निर्देशन दिएका छौं,’ पाण्डेले भने। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *