समाचार

जबर्जस्ती करणीको मुद्दा बढ्दो

ललितपुर, १७ पुस । ललितपुर जिल्लामा जबर्जस्ती करणीको घटना क्रम बढ्दो अवस्थामा रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार यहाँ आयोजना गरेको ‘जिल्लाको मानवअधिकारको अवस्था वार्षिक पूर्वसमीक्षा कार्यक्रम’ मा ललितपुरमा सो विषयको उजुरी सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी गराइएको छ ।

इन्सेकले २०७५ पुस १६ गतेदेखि २०७६ पुस १० गतेसम्म जबर्जस्ती करणीको मुद्दामा कूल ४८ वटा उजुरी दर्ता भएको जनाएको छ । गत वर्ष विसं २०७४ पुस १५ देखि २०७५ पुसको १६ गतेसम्म सो विषयका कूल ३५ वटा उजुरी दर्ता भएको इन्सेक ललितपुरका प्रतिनिधि दीपकप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२०७५ पुस १६ गतेदेखि २०७६ पुस १० गतेसम्ममा जबर्जस्ती करणी उद्योगमा १६ वटा उजुरी परेका छन् भने २०७४ पुस १५ गतेदेखि २०७६ पुस १६ सम्ममा सो उद्योगमा १० वटा उजुरी परेको थिए ।” विसं २०७५ पुस १६ गतेदेखि २०७६ पुस १० गतेसम्ममा बहुविवाहका १८ वटा उजुरी दर्ता भएका छन् भने २०७४ पुस १५ गतेदेखि २०७५ पुसको १५ सम्ममा १७ वटा सो विषयको घटना दर्ता भएका जानकारी पाएको घिमिरले बताउनुभयो ।

ललितपुर जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले मानवअधिकारको रक्षा गर्ने विषय हरेक मानिसको दिमागबाटै उठ्दा समाजमा हिंसा न्यूनीकरण हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समाजमा जतिनै मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गए पनि ललितपुर जिल्ला अदालतमा यो वर्ष एउटा पनि मावन बेचबिखनको उजुरी दर्ता भएको छैन ।” ललितपुरमा बढी बालबालिकाको संलग्नता लागुऔषध र चोरीमा रहेकाले सोको निराकरणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने कालाखेतीले चित्रण गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *