समाचार
झापामा राँगोसँग जुध्दा गौरकाे मृत्यु
झापा / झापाको मेचीनगर नगरपालिका–४ मा आज बिहान राँगोसँग जुध्दा गौर (गौरीगाईको भाले) मरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मेचीनगर–४ आलडाँगीमा स्थानीयवासी माइला भुजेलले खेतबाट पराल लिएर आउँदै गरेको राँगा गाढामा रहेको राँगोसँग जुध्दा गौर मरेको हो ।
डिजिभन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले सो गौर झापाको जङ्गलमा नभएको र भारततिरबाट नेपाल आएको बताउनुभयो । उहाँले राँगोसँग जुधेको गौरको सिंह गाडामा अड्किएको र दुईवटा राँगाको चेपुवामा परेर मरेको हुन सक्ने बताउनुभयो ।
झण्डै ५ वर्ष उमेरको जस्तो देखिने गौर मरेको स्थानमा डिभिजन वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको टोलीले पुगेर मुचुल्का बनाउन काम भइरहेको छ । मुचुल्का तयारीपश्चात् गौरलाई खाल्डो खनेर पुरिने प्रमुख घिमिरेले बताउनुभयो ।



