समाचार
हाइकिङका माध्यमबाट विभिन्न पर्यटकीयस्थलको प्रवद्र्धन गर्दै हाइकर्स क्लब
पोखरा, २ मङ्सिर -हाइकिङका माध्यमबाट विभिन्न पर्यटकीयस्थलको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो आठौँ संस्करणको हाइकिङमार्फत पर्यटकीय स्थल मट्टिखानको प्रवद्र्धन गरेको छ ।पोखरा महानगरपालिका–२१ मा रहेको मट्टिखान क्षेत्रका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यका साथ आठौं संस्करणको हाइकिङ मट्टिखान क्षेत्रमा गरिएको हाइकिङका संयोजक कृष्ण रानाभाटले जानकारी दिनुभयो ।प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न पर्यटकीय गाउँ तथा ठाउँमा हाइकिङ गरिँदै आइएको बताउँदै उहाँले स्वास्थ्य र पर्यटनको लागि हाइकिङ नाराका साथ यस अघि मिर्सा, काहुँडाँडा, शान्ति स्तुपा, चिलाउने खर्क, ठूला कोटलगायतका सात पर्यटकीय ठाउँसम्म हाइकिङ गरिसकिएको जानकारी दिनुभयो ।
हाइकिङसँगै घरवास सञ्चालित गाउँको प्रवद्र्धनको समेत उद्देश्य राखेका कारण गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)सँग पनि सहकार्य गरिएको रानभाटले बताउनुभयो । छोटो दूरीका पदमार्ग, पर्यटकीयस्थलको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग पनि सहकार्य गर्दै अघि बढिने उहाँको भनाइ छ ।आठौं संस्करणको हाइकिङका क्रममा २१ जना सहभागी भएको जानकारी दिँदै ट्रेकिङ गाईड सुन्दरमणि त्रिपाठीले स्याङ्जा र कास्कीको सिमानास्थित कुभिण्डेबाट पदयात्रा गर्दै रामकोटस्थित गुरुङ सङ्ग्रहालय, कालिका मन्दिर, साल्मेडाँडाको निर्माणाधिन गोर्खा स्मारकका साथै त्यहाँका ग्रामीण जनजीवनको अवलोकन गर्दै मट्टिखान पुगेको बताउनुभयो । (रासस)प्रतिक्रिया दिनुहोस्


