समाचार
भारतको नक्सा अस्वीकार गर्छौँ : सरकार
काठमाडौं : भारतले लिपुलेक र काला पानी समेटर सार्वजनिक गरेको नयाँ नक्सा सरकारले अस्वीकार गर्ने जनाएको छ । नेपाली भूमिलाई समेट्दै भारतले एक पक्षीय ढंगबाट नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रति सरकारले आपत्ति जनाएको हो।
‘हामी त्यो नक्सालाई अस्वीकार गर्छौँ र राजनीतिक तहबाट समाधानाको काम गर्ने र्छौँ’ बिहीबारको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने ‘त्यहाँ मात्रै होइन अरू ठाउँमा पनि सीमा सम्बन्धी विषय टुंगो लगाउन बाँकी छ। करिब –करिब २ प्रतिशत जति ठाउँमा समस्या छ। राजनीतिक र कूटनीतिक तबरबाट दसी र प्रमाणका आधारमा समस्या समाधान गर्छौँ।’
मन्त्री बाँस्कोटाले भारतको नक्सामा समेटिएको लिपुलेक र कालापानी नेपालकै भएको दाबी गरे। ‘२०१८ सालमै त्यसक्षेत्रमा नेपालको तर्फबाट जनगणना पनि भएको थियो। राजश्व संकलन गर्ने काम पनि भएको ऐतिहासिक प्रमाण पनि छन्’, उनले भने, ‘अन्त गएर त जनगणना हुँदैन। राजश्व संकलन गर्न सकिँदैन। त्यो भूमि हामीसँगै छ।’ उनले नेपाली भूमिको रक्षा गर्नु सरकारको दायित्व भएको बतताए।


