समाचार

महाशिलाले आफ्नै लगानीमा सडक कालोपत्र गर्‍यो

पर्वत, २२ भदौ  : कहिले गाउँका बेरोजगार युवालाई स्वयंसेवकको रूपमा नियुक्ति गरेर, कहिले बाँदर नियन्त्रण अभियान गरेर त कहिले सत्केरीलाई भाले र घ्यू दिने अध्यक्ष उपहार कार्यक्रम गरेर चर्चामा आएको यहाँको एक गाउँपालिकाले फेरि जिल्लामै नमूनायोग्य काम शुरु गरेको छ ।प्राय स्थानीय तहहरु सानातिना योजनामा बजेट विनियोजन गर्ने, ठूला योजना निर्माण गर्नुपरेमा प्रदेश वा सङ्घीय सरकारसँग बजेट माग गर्ने गरेको पाइन्छ । तर, पर्वतको महाशिला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै लगानीमा ठूलो योजना शुरु गरेको छ ।

वडा नं ५ लुङ्खुदेउरालीदेखि वडा नं ४ पाखापानीस्थित गानावाङसम्मको सडक कालोपत्र गर्न थालेको हो । पाँच किलोमिटर सडक आफ्नै लगानीमा निर्माण गर्न थालेको हो । अहिलेसम्म पूरै कच्ची सडक मात्र रहेको उक्त गाउँपालिकामा पहिलोपटक गाउँपालिकाले सङ्घ र प्रदेशको मुख नताकी आफैँ बजेट विनियोजन गरेर सडक कालोपत्र गर्न थालेको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबारदेखि उक्त सडक कालोपत्रको काम शुरु गरिएको हो ।

रु छ करोड ४६ लाखको लागतमा निर्माण हुनलागेको उक्त योजनाको १८ महीनाको सम्झौता अवधि रहेको छ ।सडक निर्माणको जिम्मा फेवा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७७ मङ्सिरसम्म सम्पन्न गर्नुपर्ने सडक कालोपत्रको कामको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गर्नुभएको छ ।कार्यक्रममा मन्त्री बस्नेतले अबको पाँच वर्षभित्र गण्डकी प्रदेशका अधिकांश मुख्य–मुख्य ग्रामीण सडक कालोपत्र भइसक्ने बताउनुभयो । उहाँले अबको समय विकास निर्माण र समृद्धिको भएकाले प्रदेश सकारले दीर्घकालीन महत्वका योजनालाई प्राथमिकता दिएको बताउनुभयो ।

मन्त्री बस्नेतले तोकिएकै गुणस्तर र मापदण्डमा रहेर काम सम्पन्न गर्न आग्रह गर्दै यसमा जनप्रतिनिधिले निरन्तर निगरानी बढाउनुपर्ने बताउनुभयो ।आर्थिक विकासको पहिलो पूर्वाधार सडकनै भएकाले गुणस्तरीय सडक बनेपछि अन्य क्षेत्रको निर्माणमा पनि सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले काम गर्न सके कुनैपनि स्थानीय तहलाई बजेटको अभाव नहुने पनि बताउनुभयो ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले टुक्रे योजनालाई न्यूनीकरण गर्दै दीर्घकालीन महत्वका योजनामा बजेट केन्द्रित गरिएको बताउनुभयो । उहाँले उक्त सडक निर्माणपछि आगामी आर्थिक वर्षको बजेटमा यस्तै ठूला योजनामा बजेट विनियोजन गर्ने बताउनुभयो ।

टुक्रे योजनामा बजेट विनियोजन गरेर काम धेरै देखाउनुभन्दा पनि थोरै तर दीर्घकालीन योजनामा बजेट विनियोजन गर्न गाउँसभाले नै निर्णय गरेको थियो ।उक्त सडक निर्माणपश्चात दक्षिण पर्वतका पैंयु र विहादी गाउँपालिकाका साविकका एक दर्जनभन्दा बढी गाविसका बासिन्दालाई सदरमुकाम आउजाउ गर्न सहज हुने भएको छ । पर्वतको फलेवास नगरपालिकास्थित लमाएदेखि लुङ्खुदेउरालीसम्मको सडक पनि कालोपत्रको काम पनि भइरहेको छ ।(रासस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *