समाचार

शालिकराम आत्महत्या प्रकरण : रविकी पत्नीद्वारा पत्रकार किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध उजुरी

सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा एक प्रहरी अधिकारी र दुई पत्रकार पनि तानिएका छन्।आत्महत्याअघि पुडासैनीले रेकर्ड गरेको भिडियो अनुसन्धान नसकिँदै सार्वजनिक गरेको भन्दै चितवनका एसपी दानबहादुर मल्ल, ‘जनआस्था साप्ताहिक’का सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालामाथि विद्युतीय कारोबार ऐन अन्तर्गत उजुरी परेको छ। 

न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले महानगरीय प्रहरी परिसर टेकुमा आज उजुरी दर्ता गराएकी हुन्।

जनआस्थामा गत साउन २९ गते ‘​पत्रकारले मर्दामर्दै खोलेको पोल’ शीर्षकमा पुडासैनीको भिडियो/अडियोमा आधारित समाचार छापिएको थियो। पछि आफूले नै सो भिडियो नेपाल आजका सम्पादक कोइरालाई उपलब्ध गराएको श्रेष्ठले बताउँदै आएका छन्। 

सञ्चारकर्मी पुडासैनीको आत्महत्या प्रकरणमा टिभी कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की साउन ३० गते पक्राउ परेका थिए।

अनुसन्धानका लागि भन्दै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवन लगिएको थियो। सुरुमा अनुसन्धानका लागि जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद पाएको प्रहरीले हिजो (सोमबार) पुन: थप ५ दिन अनुसन्धानका लागि अदालतबाट अनुमति पाएको छ।

मुलुकी फौजदारी संहिताअन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा उनीहरुमाथि अनुसन्धान भइरहेको छ।पुडासैनीले आत्महत्याअघि गरेको भिडियो रेकर्डमा लामिछानेसहित कँडेल र कार्कीको नाम लिएका थिए। आफूलाई आत्महत्या गर्ने अवस्थामा पर्‍याउन उनीहरु जिम्मेवार भएको उनको दाबी छ।

जिल्ला अदालतमा प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले र रवि लगायतको पक्षबाट अधिवक्ता सुनिलकुमार पोखरेलसहितले बहस गरेका थिए।

चितवनको नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा पुडासैनी साउन २० गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *