समाचार
कश्मीर मुद्दाले दार्जिलिङमा हलचल, दार्जिलिङमा पनि चर्किने भयो आन्दोलन
भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरी केन्द्र शासित दुई अलग राज्यमा टुक्रायाउने निर्णय गरेसँगै दार्जिलिङमा हलचल सुरु भएको छ । भारत सरकारको निर्णयसँगै प्रस्तावित ‘गार्खाल्यान्ड’ प्रति सरकारको ध्यानाकर्षण गर्न विभिन्न राजनैतिक दलका नेताहरु सक्रिय बनेका छन् । सोमबार बोडोल्यान्ड पिपुल्स फ्रन्टका सांसद विश्वजित दैमारीलगायतले राज्यसभामा गोर्खाल्यान्ड लगायत बोडोल्यान्ड राज्य गठन हुनुपर्ने माग गरेका छन् ।भूमिगत नेता विमल गुरुङले प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रलाई पनि केन्द्र अधीनस्थ राख्नुपर्ने माग गरेका छन् । यो समाचार कान्तिपुर दैनिकमा मनोज बोगटीले लेखेका छन् ।
राहुल गान्धीको आपत्ति : नयाँ दिल्ली-भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले सरकारको सोमबारको निर्णयलाई सरकारको ‘कार्यकारी शक्तिको दुरूपयोग’ बताएका छन् ।भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले भारत सरकारले गरेको जम्मु–कश्मीरका नेताहरुको गिरफ्तारी असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका छन् । उनले सरकारको यस कदमलाई मूर्खतापूर्ण कदम भएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेता गान्धीले सरकारले लिएको पछिल्लो कदमले आतङ्कवादलाई प्रश्रय दिएको भनेका छन् । गान्धीले भनेका छन्, ‘आतंकवादीहरुलाई केन्द्र सरकारले किन मौका दिइरहेको छ ? सबै नेताहरुलाई तुरुन्त रिहा गर्नुपर्छ ।’सरकारी निर्णयको प्राय सवै कङ्ग्रेस नेताले विरोध गरेका छन् । उनीहरूले लोकतन्त्रमा जननिर्वाचित प्रतिनिधिलाई विना कुनै कारण पक्राउ गर्नु केन्द्र सरकारको गैरजिम्मेवारीपन भएको बताएका छन् ।

