समाचार
खुसीको खबर,अब यतीले पोखराबाट भरतपुर र भैरहवा सीधा उडान गर्ने
काठमाडौँ — यती एयरलाइन्सले बिहीबारदेखि पोखराबाट भरतपुर र भैरहवा सिधा उडान भर्ने भएको छ । उसले पर्यटकका लागि पोखराबाटै दैनिक माउन्टेन फ्लाइट ९पर्वतीय उडान० पनि गर्ने शुक्रबार घोषणा गरेको छ ।
यतीले यी रुटमा ३० सिट क्षमतायुक्त जेटस्ट्रिम–४१ विमान उडाउने भएको छ । ‘पोखराबाट मुलुककै गतिशील सहर भैरहवा, भरतपुर र नेपालगञ्ज ९चार्टरमा मात्र० का लागि उडान सुरु गर्ने भएका छौं,’ यतीले विज्ञप्तिमा छ, ‘साथै, पोखराबाटै दैनिक माउन्टेन फ्लाइट, ‘अन्नपूर्ण एक्सप्रेस’ समेत थालनी हुने भएको छ ।’ साउन १६ देखि भैरहवाका लागि पोखराबाट दैनिक उडान हुने छ भने पोखराबाटै भरतपुरको उडान भाद्र १५ गतेबाट र ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट भाद्र २९ गतेबाट सुरु हुँदै छ । यतीले पोखराबाट नेपालगञ्जका लागि ‘चार्टर्ड फ्लाइट’ सेवा पनि सुरु गरेको छ ।
यतीले पोखराबाट भैरहवासम्मको उडान अवधि २० मिनेट र पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट हुने जनाएको छ । माउटेन फ्लाइटमा पर्यटकले माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायत हिमश्रृंखलाको दृश्यावलोकन गर्ने छन् । यती अघि पोखराबाट भैरहवा र भरतपुर निजी क्षेत्रको बुद्ध एयरले उडान थालेकोथियो ।
यतीसँग ५ वटा एटीआर ७२–५०० र पाँच वटा जेटस्ट्रिम ४१ ट्विन टर्बो प्रप विमान छन् । यतीको भगिनी संस्था तारा एयरसँग ४ वटा ट्विन ओटर र २ वटा डोर्नियर डीओ२२८ छन् । यती र तारा एयर नेपालकै सबैभन्दा ठूलो हवाइ सञ्जालन र धेरै संख्यामा विमान भएको नेपाली एयरलाइन्स हो ।कान्तिपुरमा खबर छ ।


