समाचार

नगरप्रमुख विरुद्ध चक्का जाममा उत्रिएका २ वडाध्यक्ष सहित ६ पक्राउ

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्ष सहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए ।

चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडानं ७ महादेव स्थानका वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य नीरजमानसिं बस्नेत सहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुसँगै चक्काजाममा बसेका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडासमिति सचिव धनकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ।

चक्काजाम गराउन बसेका वडाध्यक्षसहित छ नेकपाका कार्यकर्ता पक्राउ परेपछि अहिले दिक्तेल– हलेसी सडकखण्ड तनावग्रस्त बनेको छ । नगरप्रमुख राईले नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले नगरसभा गरेको भन्दै विरोधमा उत्रिएका उनीहरुले एक घण्टाका लागि बिहान छ बजेदेखि चक्काजाम गरेका थिए।

चार वडाध्यक्षसहित २६ जनप्रतिनिधि, नेकपा निकट कार्यकर्ता र स्थानीय वासीले हिजो नाराजुलुस सहित एक घण्टा दुर्छिम स्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए। सडकमा अवरोध पुर्याएकाले चक्का जामको नेतृत्व गर्ने दुई वडाध्यक्ष सहित छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए।

“पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय हलेसीमा राखिएको छ”, उनले भने, “उनीहरुका बारेमा के गर्ने भन्ने बारेमा सुरक्षा समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरिएको छ ।” नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४/७५ को महा लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्न लगायतका माग राख्दै आएका छन् ।

नगरप्रमुखदेखि रुष्ट बनेका उनीहरुले सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हाल सम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको लगायतका आरोप लगाएका छन्। जनप्रतिनिधि सहित छ जना नेता तथा कार्यकर्ता पक्राउ परेपछि अहिले हलेसी नगर समितिको बैठक बसिरहेको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको प्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गर्ने तयारी भइरहेको नगरसमिति अध्यक्ष सुरेन्द्र राईले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *