समाचार
राप्ती नदीमा पानीको बहाव बढ्दो, सावधानी अपनाउन प्रशासनकाे आग्रह
राँझा / राप्ती नदीमा पानी बहावको सतहले ‘खतराको विन्दु’ पार गरेपछि सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । पहाडी क्षेत्रमा लगातारको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्दै गएको हो । शनिबार दिउँसो ३ः३० बजे नदीको सतहले ‘खतराको विन्दु’ पार गरेको हो । राप्ती नदीको कुुसुमस्थित मापन केन्द्रका अनुसार, पाँच मिटर ४० सेन्टीमिटरलाई ‘खतरा’ मानिन्छ । राप्ती नदीले अहिले त्यो तह पार गरिसकेको छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका संयोजक गौरी बुढाथोकीले रातभरिको वर्षाले नदीको सतह बढ्ने क्रम जारी रहेकाले राप्ती तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, राप्ती नदीमा पानीको सतह बढेसँगै फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गङ्गापुर, र नरैनापुरका केही भाग डुबानमा परेका छन् । भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुबानमा पर्दै आएका छन् ।



