समाचार

अस्ट्रेलियाको नयाँ नीति: तलवसँगै भिसा शुल्क बढ्यो

जुलाई १ देखि अस्ट्रेलियामा नयाँ आर्थिक वर्ष सुरु हुन्छ। नयाँ वर्षका लागि आर्थिक नीतिसहित विविध पक्षमा फेरबदल हुने गर्दछ। 

यस वर्ष गत सोमबारदेखि अस्ट्रेलियामा के के आर्थिक नीतिहरु परिवर्तन भए त ? यो सबैका लागि चासोको विषय बनेको छ।

एक्लै वा परिवारसँंग अस्ट्रेलियामा बस्दै आएका, विद्यार्थी वा कुनै व्यापार व्यवसाय चलाउँदै आएकालाई नयाँ नीतिले प्रभावित पार्ने छ। तलवदेखि करका विषयसम्म नयाँ नीतिले सबैलाई असर पारेको हुन्छ। 

कर छुटको ब्यवस्था 
यो नयाँ आर्थिक वर्षको लागि संघीय सरकारद्वारा गरिएको बजेट घोषणा अनुसार निम्न तथा मध्य आय भएका मानिसहरूका लागि कर छुट हुने ब्यवस्था गरिएको छ। जस अनुसार वार्षिक ३७ हजार डलर भन्दा कम रकम कमाउने व्यक्तिहरूले थप २५५ डलरसम्म कर छुट पाउने व्यवस्था गरिएको छ।

तर ३७ हजार डलर देखि ४८ हजार डलरसम्म कमाउनेहरूका निम्ति भने उक्त २५५ डलर सहित अधिकतम १,०८० डलरसम्म छुट हुने नयाँ व्यवस्था गरिएको छ।

यदि ४८ हजार डलर भन्दा बढी र ९० हजार डलर कम कमाई छ भने सिधै १ हजार ८० डलर कर छुट पाउने व्यवस्था गरिएको छ। ९० हजार १ देखि १ लाख २६ हजार डलरसम्म कमाउनेहरूका हकमा भने उक्त छुट १ हजार ८० बाट सुरु भई जति धेरै कमाइ उही अनुपातमा कम हुँदै जानेछ।

तपाई १ लाख २६ हजारभन्दा बढी कमाउनेमा पर्नुहुन्छ भने १३५ डलर छुट पाउनु हुनेछ। अस्ट्रेलियन कर कार्यालयका अनुसार प्रस्तावित कर छुट सम्बन्धी नियम परिवर्तन संसद्बाट पास भए जुलाइ १ देखि लागू हुनेछ।

तलबमा वृद्धि
फेयर वर्क कमिसनले मे महिनामा गरेको घोषणा अनुसार अस्ट्रेलियामा सबैभन्दा कम पैसामा काम गर्ने कामदारहरूले पनि प्रतिहप्ता २१.६० डलर थप कमाइ गर्ने भएका छन्।

युनियनहरूले ६ प्रतिशत वृद्धिको वकालत गरेता पनि फेयर वर्क कमिसनका अनुसार हाल अस्ट्रेलियाको तलव स्केलमा तीन प्रतिशतले न्यूनतम ज्याला दर बढेको छ।

व्यापारिक समूहहरूले भने उक्त माग पुरा गर्न नसकिने बताउँदै सो वृद्धि २ प्रतिशतमा झार्नुपर्ने बताएका थिए। तीन प्रतिशतले वृद्धि हुने न्यूनतम ज्याला दरअनुसार अब फुल टाइम काम गर्ने तर सबैभन्दा कम कमाउने श्रमिकले पनि हरेक हप्ता कम्तीमा ७ सय ४० डलर कमाउने छ।

सुपरएन्नुएसन सुधार 
आज देखि लागू भएको सुपरएन्नुएसन (कम्पनीको पेन्सन योजना) सम्बन्धी प्रमुख परिवर्तन भनेको यदि तपाईको सुपरमा ६ हजार डलर भन्दा कम रकम भए, त्यो व्यवस्थापन गरिदिए बापत सुपर फण्डहरुले ३ प्रतिशत भन्दा बढी शुल्क उठाउन पाउने छैनन्। यसले करिब ५० लाख अस्ट्रेलियन करदाताहरूलाई मद्दत गर्नेछ।

विशेषत यदि तपाईंको सुपर विभिन्न फण्डहरुमा छरिएर रहेका छन् भने वा तपाईँले भर्खरै अस्ट्रेलियामा काम गर्न सुरु गर्नुभएको छ भने यसले थप मद्दत गर्नेछ।

बिजुली बत्तीको बिलमा सहुलियत
न्यु साउथ वेल्स, क्विन्सल्याण्ड र साउथ अस्ट्रेलियामा बसोबास गर्नेहरुका लागि बिजुली बत्तीको बिलमा प्रति वर्ष १ सय८१ डलरसम्मको बचत हुने भएको छ ।

यो परिवर्तनले ‘स्ट्याण्डर्ड रिटेल प्लान’मा रहेका करिब १० लाख बिजुली ग्राहकलाई प्रभावित गर्नेछ।
नयाँ दर रेट अनुसार दक्षिण पूर्वीय क्विन्सल्याण्ड निवासीहरूले ११८ डलर, साउथ अस्ट्रेलियामा बस्नेहरूले १७१ डलर औसत बचत गर्न सक्ने छन्।

साउथ वेल्समा भने सेवा प्रदायक अनुसार यो बचत १२९ डलर देखि १८१सम्म हुन सक्ने देखिएको छ ।व्यापार व्यवसाय गर्नुहुन्छ भने बिजुलीबत्तीमा ८९६ डलरसम्म बचत गर्न सक्नु हुने छ।

यातायातमा राहत
सिड्नीमा बस्नेहरुका लागि हप्ताको ५० डलर भन्दा बढी सार्वजनिक यातायातमा खर्चिनु नपर्ने भएको छ। यसअघि ६३.२० डलर ‘क्याप’ रहेको अधिकतम शुल्कमा राज्य सरकारले आफ्नो चुनावी बाचा अनुरूप २० प्रतिशतले कटौती गरेको हो। यसबाट करिब ५५ हजार यात्रुहरूले वार्षिक ६८६ डलर बचाउन सक्नेछन। 

भिसा शुल्कमा वृद्धि 
अस्ट्रेलियन सरकारको यो निर्णयले भने भिसाहरूको शुल्क ५.४ प्रतिशतसम्मले बढेको छ। विद्यार्थी भिसा शुल्क ५७५ डलर बाट बढेर ६सय ६ डलर पुगेको छ भने जनरल स्किल्ड माइग्रेसन भिसाको शुल्क ३,९५८ डलर भएको छ। त्यसै गरी पार्टनर भिसाको शुल्क पनि ७,१६० बाट बढेर ७,५४७ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *