समाचार

साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माण शुरु

दिक्तेल / दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने साप्सुखोलामा मोटरेबल पुल निर्माणको काम शुरु गरिएको छ । दुई स्थानीय तहको बीचमा पर्ने साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माणको काम शुरु गरिएको हो ।

याम्खादेखि मनमाया राई खानीडाँडा विमानस्थल जोड्ने सडकखण्डमा पर्ने मोटरेबल पक्की पुल विसं २०७८ जेठ १७ गते सम्पन्न गर्नेगरी सूर्य एण्ड सन्स प्रालि सुनसरीले ठेक्का लिएको छ । रु पाँच करोड ६० लाख १० हजार ५४५ मा ठेक्का लागेको पुल ४० मिटर लामोे हुनेछ ।

प्रिस्ट्रेस बिम पुल बिममा तार घुसाई तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल भएको निर्माण कम्पनीका प्रतिनिधि हरिप्रसाद बरालले बताउनुभयो । “हामीले विभिन्न ठाउँमा यस्ता पुल थुप्रै बनाएका छौँ”, उहाँले भन्नुभयो, “यो नयाँ प्रविधिको पुल हो, यो पनि निर्धारित समयमै सम्पन्न गर्नेछौँ ।”

साप्सुखोलामा निर्माणाधीन प्रिस्ट्रेस बिम पुल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो मार्गमा पर्दछ । पुल निर्माणका लागि विसं २०७६ जेठ १७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो ।

विशेषगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका र खानीडाँडा विमानस्थललाई जोड्ने गरी स्थानीय सडक पुल कार्यक्रम (एलआरविपी) को प्राविधिक सहयोगमा पुल निर्माणको काम शुरु गरिएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । “पुल निर्माणका लागि प्रदेश सरकारबाट रु एक करोड ३५ लाख बजेट प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “थप रकम सङ्घ र प्रदेश सरकार दुवैसँग माग गरिएको छ । सङ्घ र प्रदेशबाट उपलब्ध नभए गाउँपालिकाकै लगानीमा निर्माण सम्पन्न गरिनेछ ।”

साप्सुखोलामा निर्माणाधीन पक्की पुल निर्माणमा ढिलासुस्ती नगर्न स्थानीयवासीले ठेकेदार कम्पनीलाई सुझाएका छन् । निर्माणाधीन पुलका विषयमा गत असार ११ गते आयोजित सार्वजानिक सुनुवाइ कार्यक्रमका सहभागीले तोकिएको समयमा सम्पन्न गर्न खबरदारी गर्दै गुणस्तरमा समेत ख्याल गर्न सुझाव दिएका हुन् । वर्षा लागेसँगै पानीको बहाव बढ्ने र बाढीका कारण तर्न नसकिने साप्सुखोलामा पक्की पुल बन्ने भएपछि दक्षिणी क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । साप्सुखोलामा पुल नहुँदा उक्त सडक हिउँदमा मात्र सञ्चालन हुने गरेको छ ।

तराईका जिल्ला जोड्ने सडकसमेत रहेको दक्षिणी क्षेत्रमा पर्ने साप्सुखोलामा योसँगै दुई पक्की पुल निर्माणाधीन अवस्थामा छ । सगरमाथा राजमार्गमा पर्ने रेग्मीटारस्थित साप्सुखोलामा निर्माण गरिएको पुल हालै सञ्चालनमा आएको छ भने दिक्तेल र मात्तिम जोड्ने पुल निर्माणाधीन अवस्थामा रहेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लफ्याङ र साकेला गाउँपालिकाको मात्तिमको सिमानामा पर्ने साप्सुखोलाको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीले जनाएको छ । उक्त ठाउँमा पुल नहुँदा ११ वर्षअघि निर्माण सम्पन्न गरिएको हरित सडक उपयोगविहीन बनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *