बिचार/ब्लग

पत्ता लागेन इटहरीकी १३ वर्षिया सपना भुजेलको हत्यारा

तीन वर्षअघि फागुन १९ गतेको चिसो साँझ । इटहरी ३ पुराण चोक नजिकैको एउटा वस्तीमा बस्ने १३ वर्षिया सपना भुजेल र उनकी आमा राधा भुजेल पसलमा चामल र केही सामान किन्न गएका थिए । पसलमा पुगेपछि सपनाले १० रुपैया मागिन् । दिएर आमाले घरमा भात पकाउँदै गर्न भनेर घर पठाइन् । आमा घर आइपुग्दा चुल्होमा भात बसाइएको थियो । सपना थिइनन् । गाउँतिर गएकी होली भन्ने सोचेर आमाले वास्ता गरिनन् । ‘अघिपछि पनि गाउँमा बेलुका टिभी हेर्न जान्थी, कहिले गाउँमै सुत्थी,’ आमा राधा भुजेलले भनिन्, ‘त्यो दिन पनि त्यस्तै होला भन्ने सोचेर वास्ता गरिनँ ।’ सपना राती फर्किइनन् । बिहानसम्म पनि छोरीको अत्तोपत्तो नभएपछि बल्ल आमाले गाउँ चाहारिन् । एकैछिनमा गाउँबाट माटो लिन नजिकैको बुढीखोला गएका युवाहरुले सुनाए, ‘सपना त बुढी खोला छेउमा मरिरहेको भेटियो ।’ सुनेपछि आफू बेहोस भएको बताउँदै राधाले भक्कानिएको स्वरमा भनिन्, ‘छोरीलाई कसले र किन मार्यो, मलाई किन छल गर्यो, थाहा छैन ।’ खेतैखेत भएर पुगिने बुढीखोला छेउको खाली जमिनमा सपनाको मृत शरीर भेटिएको थियो ।

सानो चर्केको घरको बरण्डामा उभिएर छोरीलाई सम्झिरहँदा राधा बलिन्द्रधारा आँशु चुहाउँछिन् । छेवैमा बसेकी मानसिक समस्या रहेकी उनकी जेठी छोरीले मैलो स्वेटरको बाहुलाले आँशु पुछिन् । अर्को सानो छोरा आमा भन्दै छेवैमा टाँस्सिएर राधाको अनुहारमा हेर्दै रुन थाल्यो ।

सुन चोरी र सपनाको हत्या

छोरी मारिएको पीडा घटनापछि अनुसन्धानका लागि उनी प्रहरी चौकी धाउन थालिन् । हुन त सपनाको हत्याअघि पनि उनी तालतलैयास्थित प्रहरी बिट धाइरहेकी थिइन् । कारण थियो, उनलाई लगाइएको चोरीको आरोप । तालतलैया छेउमा रहेको ‘याद घर बेम्बो कटेज’ नामक होटलमा भाँडा माझ्ने राधालाई होटल सञ्चालक आरपी भट्टराईले सुन चोरी आरोप लगाएका थिए । डेढ तोलाको सुनको सिक्रि हराएको घटनामा राधालाई दोष लगाए । राधाले नस्वीकारेपछि सञ्चालकले प्रहरी गुहारे ।

सपना हराएको अघिल्लो दिन मंगलबार सोही सिलसिलामा चौकीमा राधा छोरी सपनासँग गएकी थिइन् । ‘मेरो आमाले सुन चोरेको छैन भनेर सपनाले बोलेको थियो,’ आमा राधाले भनिन्, ‘सुन चोरी आरोप लगाउनेले चुप लाग् भनेर औला ठड्याउँदै हकारेको थियो ।’ त्यसको भोलिपल्ट सपना हराइन्, पर्सीपल्ट बिहान लास भेटियो ।

सुन चोरी गरेको आरोप लगाउने आरपी भट्टराईलाई सपनाकी आमा राधाले नै सुन चोरेको शंका छ । ‘ऊ (राधा) मात्र भएको समयमा सुनको सिक्रि हराउनु र अरुबेलाभन्दा त्यो दिन राधा चाँडै घर जानुले सिक्रि उनैले चोरेको हाम्रो शंका थियो,’ उनी भन्छन् । भट्टराईकाअनुसार सुनकै कारण सपनाको हत्या भएको पनि हुन सक्छ । ‘सुन कसैलाई सस्तोमा बेचिएको थियो र फिर्ता माग्दा थाहा पाउने डरले किन्ने मान्छेले मारेको हुनसक्छ,’ उनले भने । यद्यपी प्रहरीले भट्टराई र उनको परिवारमाथि पनि त्यतीखेर अनुसन्धान गरेको थियो ।

इटहरीमा हुने जस्तो सुकै घटनाको ४८ घण्टा भित्र रिजल्ट दिने उद्घोष गरेका थिए तात्कालिन इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले । तर उनको टोलीले हत्यारा पत्ता लगाउन सकेन । तर कतैबाट केही फेला नपरेको जनाउँदै अनुसन्धान बन्द गर्यो ।

आर्थिक समस्याले गाँजेको परिवार

राधाको परिवार आर्थिक रुपमा विपन्न छ । उनका श्रीमान छैनन् । श्रीमानले बनाइदिएको सानो चर्केको घरमा अहिले उनकी अर्की छोरी कौशिला, कान्छो छोरो कौशल अनि आमाजु बस्छन् ।  आमाजु र छोरी कौशिलाको मानसिक अवस्था त्यती ठिक छैन । कान्छो छोरो चन्चल छ । त्यसैले अलिकति बाठी अनि आमालाई काममा भरथेग गर्ने सपना नै थिइन् । आमा होटलमा जुठाभाँडा माझेर ल्याएको पैसाले घर चलाउँथिन् । त्यहाँ काम गर्नुअघि उनी जंगल गएर दाउरा बोकेर ल्याउँथिन् र बेच्थिन् ।

सपना पनि कहिलेकाहिँ नजिकैको तालतलैयामा पिकनिक आएकाहरुको जुठो भाँडा माझिदिन्थिन् । अनि उब्रेको खानेकुरा ल्याएर परिवारलाई खुवाउँथिन् । सपनाले एक वर्षअघि भेडेटारको एउटा होटलमा एक वर्ष काम गरेकी थिइन् । त्यहाँ काम गर्न बस्दा महिनाको दुई हजार रुपैया पाउँथिन् । तर यातना पाएपछि उनी फर्केर घरमै बस्न थालेकी थिइन् । पढ्ने उमेर भएर पनि उनले पढाइलाई निरन्तरता दिन पाएकी थिइनन् ।

त्यसो त उनकी दिदी पनि पढ्दिनन् । सानो भाई चाहिँ बालकेन्द्र जान्छ । छोरालाई कतिसम्म पढाउने, आमा राधा केही सोच्न सकिरहेकी छैनन् । ‘खै के ले पढाउने ? खानै दुःख छ,’ उनी भन्छिन् । उनको छोरा अलिक ठूलो भएपछि गाउँका केटाहरुसँग लागेर खोलामा बालुवा बोक्न जान्छ … शायद । त्यसैले अहिले आमाले बनिबुतो गरेर कमाएर ल्याएको पैसाले चार जनाको परिवार पालिएको छ । ‘कहिलेकाहीँ आफन्त आउँछन् र पसलको बाँकी तिरिदिन्छन्,’ राधा भन्छिन्, ‘मासु खान पैसा हुँदैन, सुँगुर काटेको ठाउँमा उब्रियो भने दिनु है अलिकति भन्छु ।’

फेरी कोसिस गर्दै प्रहरी

राधालाई छोरी नहुँदाको पीडा जति छ, प्रहरीले राम्रो सहयोग नगरेको उनको गुनासो छ । अपराधीले प्रहरीलाई प्रभावमा पारेको हुनसक्ने उनको अनुमान छ । ‘हामीसँग पैसा छैन, पैसा हुनेले पेल्यो होला,’ उनी भन्छिन्, ‘कुकुर मराई भयो नि, कसले किन मा¥यो, केही थाहा भएन ।’

सपनाको हत्या गर्ने कुनै कारण पनि देखिँदैन । पोष्टमार्टम रिपोर्टमा सपनाको बलात्कार भएको पनि देखिँदैन । उनको घाँटी थिची हत्या भएको देखिन्छ । तर कसले अनि किन मार्यो त ? रहस्यमै सिमित छ । केही शंका आमामाथि पनि छ । तीन वर्षपछि आएर प्रहरीले सबै शंका र त्यसका आधारलाई केलाउन थालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *