समाचार
आफ्नै बच्चा खोलामा फाल्ने आमा पक्राउ, गर्भवती भएको थाहा पाएपछि प्रेमीले छाडेर भागेको अनुसन्धानबाट खुल्यो
मोरङ- प्रहरीले आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा माया राई रहेकी छन् ।मोरङ उर्लाबारी नगरपालिका–६ स्थित नवनिर्मित बसपार्क छेउनजिकै मावाखोलाको किनार काँसघारीमा फालिएको अवस्थामा २०७५ चैत २५ गते शिशु फेला परेको थियो । बेबारिसे अवस्थामा भेटिएको बच्चाको आमा को हुन् भनेर खोजतलास गर्दै जाने क्रममा इलामको माङसेबुङ गाउँपालिका–६, स्थायी घर भई उर्लाबारी नगरपालिका–६ पानीट्याङकीका अमृत तामाङको घरमा बस्दै आएकी अन्दाजी ३० वर्षीया माया राई रहेको अनुसन्धानबाट खुल्न आएको हो ।
नाबालक शिशुलाई गोदावरी अस्पतालबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो । लामो समय खोजी गर्दा पनि फेला नपरेकी नाबालक शिशुको आमा माया राई पछि नोबेल अस्पतालमा आफैँ उपस्थित भएकी थिइन् । नोबेल अस्पतालमा उपचारको क्रममा नवजात शिशुको चैत २८ गते उपचारका क्रममा मृत्यु भएपछि लगत्तै शिशुकी आमा माया राई अस्पताल परिसरबाट भागेकी थिइन् । प्रहरीलाई केही दिनअघि मात्र माया रतुवाखोला किनारामा रहेको सुकुम्बासी बस्तीमा बसोबास गर्दै आइरहेको भन्ने सूचना प्राप्त भएको थियो । सोही गोप्य सूचनाको आधारमा मायालाई प्रहरीले उर्लाबारी–५ हाटखोलाको शुक्रबारे बजारबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मायाले २०७५ असारमा काठमाडौँमा भेट भएका एक व्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही समय उर्लाबारीमा प्रेमीसँग बस्दै आएकी माया गर्भवती भएको थाहा पाएपछि छाडेर भागेको बताइएको छ । पक्राउ परेकी मायालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


