समाचार
आगलागीमा एक करोड ७१ लाख क्षति
सदरमुकाम फिदिम बजारको मेनरोडमा बिहीबार दिउँसो पाँचवटा वटा घरमा आगलागी हुँदा रु एक करोड ७१ लाख ५५ हजार क्षति भएको छ । आगलागीबाट तीवनटा घरमा पूर्ण क्षति र अन्य दुई घरमा आंसिक क्षति भएको थियो ।जिल्ला प्रहरी कार्यालय पाँचथरले तयार पारेको प्रतिवेदनअनुसार इन्द्रकुमारी थापा मगरको काठ र टिनले बनेको दुई तले कच्ची घर र दुईतले पक्की घरको रु ३५ लाख क्षति भएको छ । उक्त घरमा सीता योङहाङले सञ्चालन गरेको सीता होटल र लजमा रहेका सम्पूर्ण सामग्री रु १६ लाख ३० हजार, त्यस्तै रणप्रसाद एकतेन लिम्बूको नगद, क्यामरा र महत्वपूर्ण कागजात जल्दा रु एक लाख ३५ हजार, इन्दु जबेगुले सञ्चालन गरेको स्मा स्टोर्सका सम्पूर्ण सामग्री रु १० लाख ५५ हजार र भीम केरुङ लत्ताकपडालगायत सामग्री जलेर नष्ट हुँदा रु एक लाख क्षति भएको प्रहरीले जनाएको छ । विनाकुमारी थापा मगरको दुईतले काठ र टिनले बनेको कच्ची घरको रु २५ लाख क्षति भएको छ । सोही घरमा तरणीकुमार शाहले सञ्चालन गरेका मिष्ठान्न भण्डार र त्यहाँ रहेका सम्पूर्ण नगद, सुन चाँदीलगायत रु १९ लाख ३८ हजार, सोही घरमा सञ्चालनमा रहेको हरिप्रसाद भट्टराईको रु १० लाख बराबरको फलफूल पसल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले उल्लेख गरेको ।आगलागीबाट छेउमा रहेको सावित्रा योङहाङको घरको भित्ता र तेस्रो तलाको २५ लाख रुपैयाँ, सोही घरमा सञ्चालनमा रहेको पाँचथर गेष्टहाउसको नौवटा कोठामा रहेको सम्पूर्ण समानको १४ लाख ६० हजार रुपैयाँको क्षति भएको हो ।आगलागीबाटै नरमाया कार्की ढकालको पक्की घर र घर अगाडि रहेको घुम्ती पसलको रु चार लाख ८० हजार, सोही घरमा रहेको एनएमबी बैंकको सिसिटिभिसहितको उपकरण रु एक लाख ५० हजार र घुम्तीमा गुलाव महम्दले सञ्चालन गरेकोे कस्मेटिक पसलको रु सात लाख सात हजारको क्षति भएको हो ।बिहीबार दिउँसो १ बजेको समयमा भएको आगलागी नगरपालिकाको बारुडयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा करीब डेढ घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।

