समाचार
भक्तजनले चढाए पशुपतिनाथ मन्दिरमा ९ किलो सुन र एक अर्ब २९ करोड नगद
काठमाडौं । काठमाडौंमा रहेको हिन्दुधर्मालम्बीकोहरु तीर्थस्थल पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले ९ किलो ५ सय ८६ सुनचाँदी चढाएका छन् । २०७५ सालसम्ममा ९ किलो ५ सय ८६ ग्राम सुनचाँदी जम्मा भएको विवरण पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले जनाएको छ ।
समितिले दिएको प्रतिवेदनअनुसार ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी त्यहाँ संकलित छ । समितिका अनुसार यो २०१९ देखि २०७५ सम्मको विवरण हो । २०१९ भन्दा अगाडिको मुचुल्का प्राप्त नभएको समितिले जनाएको छ । नगद मौज्दाततर्फ एक अर्ब २९ करोड ३८ लाख, ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा विभिन्न बैंकमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो रकममध्ये एक अर्बको अक्षय कोष निर्माण गरिएको छ ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०७४ कात्तिक ६ गते पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समिति गठन गरेको थियो । उक्त समितिले समयमा प्रतिवेदन बुझाउन नसकेपछि २०७५ साउन २९ गते ६ महिना म्याद थप गरिएको थियो । समितिले हालै प्रतिवेदन तयार गरेर बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

