समाचार

शिक्षिकाको कुटाइबाट चौध विद्यार्थी घाइते, एक सातापछि घटना सार्वजनिक

रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन्।

दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट १४ विद्यार्थी घाइते भएका हुन्। घाइते हुनेमा कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी छन्।

उनीहरूमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ। घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातमा गम्भीर चोट लागेको छ। उनीहरूको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ।

उनीहरूको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक डा. घनश्याम शर्माले जानकारी दिनुभयो। ‘घाइतेहरूको अनुहार पनि सुन्निएको छ। जोर्नीमा दबाब देखिएकाले सुधार आउन केही दिन लाग्छ।’ –डा. शर्माले बताउनुभयो।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए।

आफूहरू लाइन लाग्दै गरेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लाठी चलाउन शुरु गरेको बालिका भीमकुमारी बाँठाले बताउनुभयो। ‘हामी लाइन लाग्दै थियौं, मिसले किन ढिलो आयौ भनेर हामीमाथि अन्धाधुन्ध लट्ठी प्रहार गर्नुभयो। विद्यार्थी रोइकराई गर्न थालेपछि हेर्न नसकेर अरू सर मिसहरू अफिसतर्फ दौडिनुभयो।’

शिक्षिकाको कुटाइबाट सामान्य घाइते हुनेहरू प्रेम पुन, सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरूणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती रहेका छन्। शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुर घर्तीको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीले बताएका छन्।

घटना यही जेठ १२ को हो। वडा अध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र भएका कारण समाचार तत्काल बाहिर नआएको हो। तर जब पीडित पक्ष जानकारी लिएर इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईंसमक्ष आएपछि समाचार बाहिर आएको हो।

‘विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि झण्डै एक सातापछि उपचारमा ल्याइएको छ’ –चापागाईंले भन्नुभयो।

दुखाइका कारण रातदिन सताउने र लेख्नपढ्नसमेत नसकेपछि उपचारका लागि ल्याएको अभिभावक प्रताप घर्तीले जानकारी गराउनुभएको छ।

बालबालिकामाथि बल प्रयोग दण्डनीय 
काठमाडौं, (नेस)
संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ मा बालबालिकामाथि कुनै भेदभाव गर्न नपाइने उल्लेख छ। महासन्धिले बालबालिकामाथि हुने कुनै पनि खालका प्रताडना गर्न नपाइने उल्लेख गरेको सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर बताउनुहुन्छ।

दक्षिण एसियामा नेपालले पहिलोपटक बाल अधिकारका बारेमा कडा कानुन बनाएको पनि तुलाधर बताउनुहुन्छ। बालबालिकासम्बन्धी ऐनमा कुनै पनि बहानामा बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिनु दण्डनीय भएको उल्लेख गरेको पाइन्छ।

नेपालमा बालबालिकालाई अनुशासनमा ल्याउन चाहे बाबुआमा हुन् चाहे शिक्षकशिक्षिका हुन् सबैले बल प्रयोग गर्ने गरेको पाइएको छ।

कार्यकारी निर्देशक तुलाधरले भन्नुभयो– ‘यस्ता कार्यमा संलग्नमाथि कारवाही नगरेसम्म घटना दोहोरी रहन्छन्।’

बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोतम पौडेलले बालबालिकामाथि हुने कुनै पनि हिंसालाई नेपालको कानुनले निषेध गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो बालबालिकामाथि हुने शारीरिक हिंसालाई निषेध गर्दै त्यस्ता अपराधमा संलग्न हुने जुनसुकै व्यक्तिलाई ५० हजारदेखि १ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैदको व्यवस्था गरेको छ। साभार, नेपालसमाचारपत्रबाट/नरेन्द्र केसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *