समाचार
जग्गा खाली गर्न भनेपछि तामाङ्गबस्तीका स्थानीय चिन्तामा
जलेश्वर / बर्दिवास नगरपालिका वडानं.१ को गाल्टारस्थित रहेको तामाङ्गवस्तीका स्थानीयहरु बसेको ५० वर्षभन्दा बढी भइसक्यो । तर अहिले उनीहरुलाई उठिबास हुने भएपछि सो वस्तीका स्थानीयहरु चिन्ताले पिरोलिएका छन् । बर्दिबास नगरपालिका वडानं. २ मा रहेको जनता माध्यमिक विद्यालयले अतिक्रमणमा परेका जग्गाहरुको व्यवस्थापन गर्ने क्रममा सो वस्ती खाली गर्न जनाएपछि सो बस्तीका स्थानीयहरु चिन्तामा छन् । वि.सं. २०२६ सालमा तत्कालिन बर्दिबासका जमिनदार तथा जनता माध्यमिक विद्यालय बर्दिबासका अध्यक्ष निरबहादुर हमालले तिनजनाको नाउँमा दिनुभएको साढे सात बिग्हा जग्गामा अहिले तामाङ्गबस्ती रहेका छन् । तिनजनाबाट शुरु भएको सो वस्तीमा अहिले उनीहरुकै ११ घरधुरीहरुले बसोबास गर्दै आएको स्थानीय रामबहादुर पाख्रीनले बताउनुभयो ।
आफुहरु स्कुलको जग्गामा बसेको पछि थाहा पाएको बताउनुहुदै पाख्रीनले भन्नुभयो,‘५० वर्षदेखि यही थातथलोमा बस्दै आएको छु, अहिले विद्यालयले खाली गर भनिरहेका छन् आफुहरु कहाँ जाने ?’ विद्यालयले पहिला तिमीहरुको वस्ती अव्यवस्थित भयो, तिमीहरुलाई व्यवस्थित गर्छु भनेपनि अहिले आएर हटाउन लागेको बताउनुहुदै पाख्रीनले हामीहरु अब यो ठाउँ छोडेर कहाँ जाने तपाईहरु नै भन्नुस न ? जग्गा वापत आफुहरुले बार्षिक ५० रुपैया कठ्ठाको तिदै आएको पाख्रीनले बताउनुभयो ।


एकातर्फ हामी आधारभूत आवश्यकताबाट बञ्चित छौ र अर्कोतर्फ विद्यालयले जग्गा खाली गर्न भनेपछि आफुहरुको विचल्ली नै हुने बताउनुहुदै पाख्रीनले भन्नुभयो, ‘पानी ल्याउन पाँच किलोमिटर टाढा जानुपर्छ, विजुलीको अवस्था त्यस्तै छ, हामीहरु कसरी बाँचिरहेका छौं भन्ने ठाउँमा आफुहरुलाई भगाउने उपाय पो गरिरहेको छ ।’ बिक्रम सम्वत् २०१६ सालमा स्थापित बिद्यालयका नाउँमा रहेको जम्मा २० बिघा पाँच कठ्ठा १२ धुर जग्गामध्ये १० बिघा जग्गामा अतिक्रमण परेको जानकारी विद्यालयका प्रधानाध्यापक दिलिपकुमार तिवारीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनको आयोजना गर्नुहुदै उहाँले २०७४ साल फागुन १३ गतेको दिन विद्यालयले सर्वपक्षिय भेला बोलाएर विद्यालयको सम्पत्ति पहिचान गरी सम्पत्ति संरक्षण र सदुपयोगको उपायसहितको प्रतिवेदन तयार गर्न बनाइएको ९ सदस्यीय समितिले जग्गाहरुको पहिचान गरी तिनिहरुलाई खाली गराउन भनेको छ । यो विद्यालय धनि विद्यालयको रुपमा भनिए पनि त्यो पनि कागजमा मात्रै सिमित भएको दुखेसो पोख्नुहुदै प्रधानाध्यापक तिवारीले भन्नुभयो, ‘विद्यालयको जग्गालाई विद्यालयमै ल्याउने गरी गृहकार्य स्वरुप भत्काउने र नभत्काउने गरी दुई किसिमले घरजग्गाको अनुसन्धान गरी कार्यलाई अगाडी बढाइएको छ ।’
बर्दिवास–१४ स्थित हटियामा बिद्यालयको जग्गामा पक्कीघर, अर्धपक्की घर र टहरा बनाएर करिब तीन बिघा जग्गा अतिक्रमणमा परेको सो विद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देबनारायण महतोले जानकारी दिनुभयो । बजारमा रहेको बिद्यालयको जग्गामा दुईदेखि तिनतले १० वटा पक्की घर, १२३ वटा अर्धपक्की भुँइतले घर र ७२ वटा टहरा बनाएर विद्यालयको जग्गालाई अतिक्रमित गरिएको छ । जवर्जस्ती बस्दै आएका महतोले बताएकाछन् ।

बिद्यालयले कैयौंपटक जग्गा खाली गरिदिन आग्रह गरेपनि जग्गा हड्पेर मनपरी संरचना बनाएर बसेको जानकारी दिनुहुदै उहाँले जग्गा खाली गर्न सुचना प्रकाशन गरिसकिएको र त्यसपछि पनि नहटे बल प्रयोग गरेर भएपनि विद्यालयको जग्गालाई खाली गराइने अध्यक्ष महतोले बताउनुभयो । सो विद्यालयका प्रअ तिवारीले विद्यालयले आफ्नो जग्गा भएपनि उपभोग गर्न नसकेको बताउनुहुदै हामीहरु जग्गाको व्यवस्थित गरेर जाने सोचमा रहेको बताउनुभयो । जिल्लाकै नमुना विद्यालयको रुपमा चिनिएको यस विद्यालयमा अहिले १ हजार २०० विद्यार्थी अध्ययनरत छन् ।
कार्यदलका सदस्य तथा बर्दिबास वडानं. ४ का वडाध्यक्ष भरत हमालले आफु जनताबाटै नै चुनिएर आएकोले सबैपक्षहरुलाई बसाएर समस्याको समाधान खोज्ने बताउनुभयो । उहाँले भत्काउने कार्य सम्भव नै नभएको बताउनुहुदै आफुले ऐन, कानुनमा रहेर जनतालाई पनि संरक्षण हुने गरी कार्य गर्ने बताउनुभयो ।

