uncategorized
प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर बनाइँदै छ अतिथिगृह
काठमाडौं : सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन् स्थानीयवासी । खोल्सीसम्म धाउन नसक्नेहरू प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजारा चलाउँछन। तर, काका कुल हरिहरपुरगढीलाई प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नंं. २ का सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४० लाख बजेट त्यही गाउँमा अतिथिगृह निर्माणमा खन्याएका छन् ।
खानेपानी आयोजना उनको प्राथमिकतामै परेन । त्यही अतिथिगृह निर्माणमा पनि प्रतिगाग्री सय रुपैयाँ दरले किनेको पानी प्रयोग भइरहेको छ । स्कुले विद्यार्थीले बिदाका दिन बोकेको पानी किनेर ठेकेदारले भवन बनाइरहेका छन् । निर्माण सामग्रीमा भन्दा पानीमा बढी खर्च गर्नुपरेको ठेकेदारकै गुनासो छ । अहिले १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थी खोल्सीबाट पानी बोकेर गाउँमा बिक्री गरिरहेका खबर नया पत्रिकामा छ ।
अतिथि भवन निर्माणमा पनि किनेकै पानी प्रयोग भइरहेको छ । स्थानीयसमेत रहेका ठेकेदार यमध्वज बलले प्रतिगाग्री सय रुपैयाँका दरले पानी किनेर निर्माणमा प्रयोग गरिरहेको बताए। ‘बिहान केहीबेर धारामा आउने पानी पिउन पनि पुग्दैन । अन्य कामका लागि त खोल्सीमा धाउनु वा किन्नुको विकल्प नै छैन । अतिथि भवन निर्माणमा पनि प्रतिगाग्री सय रुपैयाँका दरले किनेको पानी नै प्रयोग गरिरहेको छु’ ठेकेदार बलले भने, ‘निर्माण सामग्रीमा भन्दा पानीमा बढी खर्च गर्नुपर्ने अवस्था छ ।’
वडासदस्य माइलीमाया घिसिङ भन्छिन्–यहाँ नजिक पानीको मुहान नै छैन । निकै टाढाबाट पाइपमा पानी ल्याइएको छ । तर, अहिले खडेरीका कारण सुकेको छ । वर्षात्मा केही सहज भए पनि अन्य समय यस्तै हो । स्थानीय तहले प्रयास गरेको छ, तर सम्भव भएको छैन । सदरमुकामबाट यो क्षेत्र एक सय ५० किलोमटिर टाढा पर्छ । त्यसैले यहाँ हतपत कसैको नजर पनि पर्दैन ।
प्रतिक्रिया दिनुहोस्

