uncategorized

भयाबह बन्दै धुमपानको असर : नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्य

काठमाडौं : नेपालमा हरेक दिन धुमपानको असर भयाबह बन्दै जाँदा दैनिक ७४ जनाको मृत्यु हुने गरेको छ । विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको पूर्वसन्ध्यामा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्रीबहादुर खड्काले नेपाल मा करिब ९० लाख (३०.८) प्रतिशत नेपालीहरुले धुमपान र सूर्तीजन्य पदार्थको सेवन गर्ने जानकारी दिए । धुमपानको कारण मानिसहरुमा स्वास्थ्य सम्बन्धी विभिन्न रोगहरु (क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वासप्रश्वास) देखा परेको पनि उनले जनाए ।

उनकाअनुसार धुवाँको रुपमा नेपालमा १८ प्रतिशतले सुर्ती खाने गरेको र काँचो सुर्ती खानेहरु १७ प्रतिशत छन् । त्यस्तै, उनले १३ देखि १५ वर्षका युवाले २०.४ प्रतिशत सेवन गर्ने गरेको पनि सुनाए । डेन्टल विद्यार्थीले ३३ प्रतिशत र नर्सिङ विद्यार्थी १.२ प्रतिशत रहेको पनि खड्काले तथ्यांक सुनाए । त्यस्तै, शिक्षक तथा विद्यालयका २१.५ प्रतिशत कर्मचारीहरुले पनि सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक खड्काले पेस गरे ।

त्यस्तै, सुर्तिजन्य पदार्थ सेवन नगर्ने तर सेवन गर्नेको वरिपरि बसी धुवा ग्रहण (सेकेण्ड ह्याण्ड स्मोकर) गर्नेलाई असर पर्ने गरेको पनि उनले सुनाए। उनले भने,‘सुर्ती सेवन गर्नेजतिनै सेवन गर्ने मान्छेसँग बस्नेलाइ पनि उतिकै असर गर्छ ।’ त्यस्तै, उनले चार हजार ७३२ टन चुरोटका फोहोर बट्टा नेपालमा थुप्रिएको पनि तथ्यांक सुनाए । उनकाअनुसार सूर्तीजन्य पदार्थ सेवन गरेको कारणबाट लाग्ने रोगहरु क्यान्सर, मुटु रोग, मधुमेह, दीर्घ श्वासप्रश्वास रोगहरुको उपचारको लागि ४७ अर्ब ३० करोड खर्च भइरहेको छ ।

उनले भने,‘त्यसमध्ये चार अर्ब ७० करोड नेपाल सरकारले खर्च व्यहोर्छ, बाँकी ४२ अर्ब ६० करोड नेपाली जनता आफ्नो गोजीबाट खर्च गर्छन।’ तर, सरकारलाई सूर्तीजन्य पदार्थको राजश्व वार्षिक रुपमा १७ अर्ब रुपैयाँमात्रै बुझाउने गरिएको तथ्यांक खड्काले पेस गरे। उनले सूर्तीजन्य पदार्थमा कर बढाउने, सार्वजनिक स्थलमा धुमपान तथा सूर्तीजन्य पदार्थको सेवन निषेध गर्ने सूर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्ने धुमपान गर्नेहरुलाई त्याग गराउन लगाउने र सूर्तीजन्य पदार्थको सेवनको असरबारे जनचेतना जगाउने काम गरिए सूर्तीजन्य पदार्थ सेवनमा नियन्त्रण हुने विश्वास दिलाए ।

खड्काले कुल क्यान्सर रोगका कारण बिरामी हुने नेपालीहरुको संख्या ३.५ प्रतिशत रहेकोमा त्यही तथ्यांकलाई कुल मान्दा त्यसमध्ये सुर्तिजन्य पदार्थको सेवनका कारणले हुने क्यान्सरको २९ प्रतिशत रहेको जनाए। त्यस्तै,मुटु रोग १२.४ प्रतिशत बिरामी हुनेमा सूर्ती जन्य पदार्थको सेवनका कारणले बिरामी हुने २१ प्रतिशत रहेको जनाए । खड्काले विश्वमा प्रत्येक चार सेकेण्डमा एक जना र वार्षिक ८० लाख मानिसको सुर्ति जन्य सेवनका कारण लाग्ने रोगका कारण निधन हुने गरेको र नेपालमा प्रत्येक घण्टा चार जनाको निधन हुने गरेको पनि सुनाए ।

उनका अनुसार नेपालमा वार्षिक २७ हजार १३७ जनाले सूर्तीजन्य पदार्थ सेवनकै कारण लाग्ने रोगबाट मृत्युवरण गर्नु परेको छ । त्यस्तै, नेपालमा कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगहरु (क्यान्सर, मुटुरोग, मधुमेह र दिर्घ श्वास प्रश्वाँस) कारण भइरहेको पनि खड्काले तथ्यांक पेस गरे । त्यस्तै, नेपालमा फोक्सोको क्यान्सरबाट कुल क्यान्सर मृत्युमध्ये १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाहरुको मृत्यु हुने गरेको पनि उनले सनुाए ।

नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्य समिति ललितपुर र प्रदेश नम्बर ३ को स्वास्थ्य निर्देश नालयले आज जनतामा सूर्तीजन्य पदार्थ र यसको सेवनले हुने असर र भविष्यमा यसको रोकथामको बारेमा सुसूचित गर्ने उद्देश्यले मिडियासँग अन्तक्र्रिया गरिएको छ । विश्व सूर्तीजन्य पदार्थ रहित दिवस, ३१ मे २०१९ को पूर्व सन्ध्यामा बिहीबार रिपोटर्स क्लब नेपालमा संयुक्तरुपमा अन्तक्र्रियाको आयोजना गरी सूर्तीजन्य पदार्थको सेवनका रोकथामको बारेमा सरोकारवाला र पत्रकारहरुबीच अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले सूर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । त्यस्तै, उनले गर्भवती र १८ वर्ष नपुगेका व्यक्तिहरुले÷लाई सूर्तीजन्य पदार्थ खरिद तथा बिक्री गर्न नपाउने कानूनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने पनि धारणा राखे । कार्यक्रममा नेपाल जन स्वास्थ्य संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण भट्टले सुर्तिजन्य पदार्थ रहित दिवस वर्षमा एक दिन मात्रै नभनी वर्षैभरि नियमित रुपमा विभिन्न प्रभावशाली कार्यक्रमहरुको आयोजना गरेर मनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल जन स्वास्थ्य संघका महासचिव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख स्वास्थ्य, शिक्षा प्रशासक महेश्वर श्रेष्ठले आजको अन्तरक्रिया कार्यक्रमको समन्वय तथा व्यवस्थापन गरेका छन् । श्रेष्ठ अन्तक्र्रियाको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका थिए भने अन्तरक्रिया कार्य क्रमको सञ्चालन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले गरेका थिए । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महा शाखाका निर्देशक रमेश प्रसाद अधिकारीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

त्यस्तै, आयोजकले भोलि विश्वभरी मनाइने सूर्तीजन्य पदार्थ रहित दिवसलाई नेपालमा पनि विभिन्न कार्यक्रम गरी मना उने भएको छ । यसै सिल सिलामा नेपाल जनस्वास्थ्य संघ, केन्द्रिय कार्य समितिले उपत्यकाभित्रका १५ वटा जनस्वास्थ्य अध्यापन गराउने कलेजमा अध्ययनरत ९० जना विद्यार्थीलाई अभिमुखीकरण गरि तिनीहरु मार्फत उपत्यकाका ३० वटा सामूदायिक विद्यालयमा सुर्तिजन्य पदार्थको सेवन र यसका कानुनी प्रावधान बारे प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा प्रत्येक विद्यालयमा पोष्टर, पाम्प्लेट, लिफलेट र साइनेजहरुसमेत टाँस गरिने कार्यक्रम रहेको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *