समाचार

सांसद्हरूद्वारा शान्तिसुरक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । शान्तिसुरक्षाको अवस्था कम्जोर हुँदै गएको भन्दै सांसद्हरूले सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा धारणा राख्दै सांसद्हरूले विप्लव नेतृत्वको नेकपाका हिंसात्मक गतिविधि नियन्त्रणमा लिन र शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकको सुरुमा बोल्दै काँग्रेस सांसद् लक्ष्मी परियारले असन्तुष्ट पक्षलाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने धारणा राख्नुभयो ।

सांसद् शान्ता चौधरीले अपराधिक संस्कृति राम्रो नभएको उल्लेख गर्दै देशले रगत नभई विकास मागेको बताउनुभयो । गोलाबारुद छोडेर वार्तामा आउन पनि उहाँले विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो । काँग्रेस सांसद् सीतादेवी यादवले नेपालमा २ तिहाइको सरकार भए पनि अहिले भने अर्धनिन्द्रामा रहेको जस्तो देखिएको टिप्पणी गर्नुभयो । गृहमन्त्री रामबहादुर थापाले नेकपा विपल्व भन्ने समूहले संविधान र राज्य व्यवस्थाका विरुद्ध गतिविधि गर्दै आएको जानकारी दिँदै उक्त समूहले जनपरिषद् गठन गरेको र सेनाका ४ कम्पनी बनाएको बताउनुभयो ।

भ्रष्टाचारको विरुद्ध भन्ने नारा दिए पनि विप्लव नेतृत्वको नेकपाका पछिल्ला गतिविधि एनसेलका टावरमा आक्रमण गर्नेदेखि हत्याहिंसामा केन्द्रित भएकोमा सरकार गम्भीर बनेको उहाँले बताउनुभयो । हिजो काठमाडौँमा भएका २ वटा बिस्फोटमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको मृत्यु भएको र उनीहरू नेपाली नागरिक नभएको गृहमन्त्रीले बताएपछि सांसद्हरूले आलोचना गरेका थिए ।

अपराधीलाई कानुनी कठघरामा ल्याउन कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले विप्लव भनिने समूहलाई नियन्त्रण गर्ने र सम्वादबाट मूल धारमा ल्याउन राज्य प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

सांसद्हरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सरकार गठन हुनु अघिको भन्दा पछिको शान्ति सुरक्षाको अवस्था राम्रो भएको बताउनुभयो । घटना घटनाउने नागरिक सामान्य नागरिक नभई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् भन्ने सन्दर्भमा आफ्नो भाषा नमिलेको भए मिलाएर बुझ्न उहाँले सांसद्हरूलाई आग्रह गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *