समाचार
टुँडिखेलमा इनार खन्ने र सुन्धारामा पानी खसाल्ने ! अन्ततः सुन्धारामा बग्ने भयो कलकल पानी
९ जेठ, काठमाडौं । काठमाडौंको सुन्धारामा पानी आउन छाडेको वर्षौं भयो । नदीनाला सुक्दै जाने, बढ्दो सहरीकरणले भूमिगत पानी सुक्दै गएपछि उपत्यकाका वर्षौं पुराना ढुंगेधारामा अहिले पानी आउँदैन । तर, सुन्धारामा पानी खसाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अध्ययन भइरहेको जनााएको छ ।
धरहराको पुनर्निर्माणसँगै सुन्धारामा पनि पानी खसाल्ने बारे अध्ययन भइरहेको प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए ।उनका अनुसार शुरुमा टुँडिखेलमा इनार खनेर पानीको सतह नापिनेछ । भूमिगत पानी सुक्दै गएकाले पहिले एउटा मात्र इनार खनेर परीक्षण गर्ने प्राधिकरणको योजना छ ।
टुँडिखेलमा इनार खनेपछि नै सुन्धारामा पानी खसाल्न सकिन्छ कि सकिन्न भन्ने टुंगो लाग्ने मानन्धर बताउँछन् । ‘सुन्धारमा पानी ल्याउन ठूलो कुरो होइन तर, त्यो पानीको निकास कसरी गर्ने भन्ने महत्वपूर्ण छ, हामी त्यसैको अध्ययनमा छौं’, उनले भने । पानीको निकासको टुंगो लागेपछि सुन्धारामा पहिलेजस्तै कलकल पानी बगाउन ठूलो समस्या नरहेको उनले बताए ।
मेलम्ची खानेपानी आयोजनाको एउटा डेडिकेटेड लाइन नै सुन्धाराका लागि छुट्याइएको उनले जानकारी दिए । मानन्धरका अनुसार सुन्धाराको आडैमा समेत इनार खनेर पानी रिसाइकल गर्न सकिने सम्भावना पनि छ । तीन दशक अघि कर्मचारी सञ्चय कोषले काठमाडौंको मलको जग खन्न थालेदेखि नै सुन्धाराको ‘रिचार्ज जोन’ धरापमा परेको जानकारहरु बताउँछन् ।
त्यतिबेला स्थानीयले विरोध गरेपनि काठमाडौं महानगरपालिकाले समेत सुनुवाइ गरेन । फलतः काठमाडौं ठडियो र सुन्धारा सधैंका लागि सुक्यो । सुन्धारामा पानी बगुन्जेल त्यस क्षेत्रका स्थानीयलाई खानेपानी, नुहाउन लगायत घरायसी प्रयोजनमा लैजान निकै सहज थियो । सुन्धारामा पानी बग्न त रोकियो न स्थानीय समेत ट्यांकर र जारको पानी किन्न बाध्य भए ।



