समाचार
वाह ! यस्तो पो सडक, जापानले बनाइएको नेपालकै उत्कृष्ट सडक
८ जेठ, काठमाडौं । विदेशमा जस्तो चिल्लो र आकर्षक देखिने सडक । हो, धुलिखेल हुँदै सिन्धुली जाने सडक देख्दा विदेशकै झल्को आउँछ । अग्लो डाँडामा घुमाउरो सडक र वरपरको मनोरम दृश्यले जो कोहिको मन लोभिन्छ । स्तरीय सडकका कारण धुलिखेलदेखि सिन्धुलीसम्मको यात्रामा छुट्दै आनन्द मिल्छ । धेरै ठाउँमा घुमाउरो भएकाले जोखिमपूर्ण त छ नै तर, संयमित रहेर सवारी साधन चलाउँदा यही घुमाउरो सडक गज्जब लाग्छ ।झण्डै २४ वर्ष लगाएर बनाइएको सडक नेपालकै उत्कृष्ट सडक मध्येमा पर्छ । हालै निर्माण सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक पनि उत्कृष्ठ छ । जापानको अन्तर्राष्ट्रिय संस्था (जाइका) र जापान सरकारको सहयोगमा विस २०५२ सालमा यो सडकखण्डको स्तरोन्नति थालेको थियो ।


दुई दशक भन्दा बढी समय लगाएर बनाइएको बिपी राजमार्ग सन् २०१५ मा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । कुल १६० किलोमिटर रहेको यो राजमार्ग पूर्वी तराईलाई जोड्ने वैकल्पिक मार्गको रुपमा पनि लिइन्छ । यो राजमार्ग २०६७ सालमै निर्माण पुरा गर्ने लक्ष्य थियो । तर, विभिन्न प्राविधिक र भौतिक कठिनाईका लक्ष्य अनुरुप काम हुन सकेन ।
४ खण्डमा विभाजन गरी निर्माण गरिएको राजमार्ग निकै घुमाउरो छ । त्यसैले पनि यो राजमार्ग जोखिमपूर्ण मानिन्छ । बर्दिबास देखि सिन्धुली बजारसम्म ३७ किलोमिटरको छ । त्यस्तै सिन्धुलीदेखि खुर्कोट बजार ३६ किलोमिटर, खुर्कोटदेखि नेपालथोकसम्म ३७ किलोमिटर र नेपालथोक देखि धुलिखेल ५० किलोमिटर छ । कुल १६० किलोमिटर लम्बाइमा निर्माण भएको उक्त सडकमा २६ अर्ब जापानी येन लगानी गरेको थियो । कस्ताे बनेकाे छ त याे सडक ? हेर्नुहाेस् माथिकाे भिडियाेमा ।

