समाचार
विज्ञ कुकुरले पहिचान गर्यो, त्यसपछि धमाधम पक्राउ परे ७ जना
काठमाडौँ- लागूऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागूऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको हो । लागुऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको प्रहरी निरीक्षकवीरबहादुर थापाले बताए ।कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिइएको छ ।
भारतीय बजार रुपैडिहाबाट आउँदै गरेकी घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का र नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरिएको छ ।यस्तै नेपालगञ्ज–१८ भुजइगाउँका किशोरकुमार धोवीलाई चार ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पास्मो र एक बोत्तल अल्टोरेक्ससहित जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको छ ।
प्रहरीले कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई ३९ ट्याब्लेट नाइट्रो भ्याटसहित पक्राउ गरेको छ ।, रुपैडिहाबाट आउँदै गरेका थप दुई बालकका साथबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ । ती दुवै बालकलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

