समाचार
काठमाडौँबाट हराएको मोटरसाइकल नवलपरासीमा फेला, मोटरसाइकल नियन्त्रण लिई धनीलाई बुझाईयो
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले काठमाडौँबाट हराएको मोटरसाइकल फेला पारी बिहीबार सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको छ । कावासोती–२ स्थित प्रहरी टोलीले जाँचको क्रममा लु४४प ८९६७ नंको ३५० सिसीको बुलेट मोटरसाइकल छाडी भागेकाले शङ्का लागी नियन्त्रणमा लिएको थियो ।
विसं २०७५ माघ १ गते काठमाडौँबाट हराएको भनी महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौँमा निवेदन परेको हुँदा उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने श्रीकृष्णराज कँडेलको भएको पुष्टि भएकाले सवारी धनीलाई जिम्मा लगाई पठाइएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । मोटरसाइकल चोरी गर्ने व्यक्तिको खोजतलास एवं अनुसन्धानकार्य जारी रहेको बताइएको छ ।

