समाचार

क्यान्सरबाट अभिभावक गुमाएका यी नर्सको कथा…

चितवन– भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सरकारीस्तरमा नेपालमा नै पहिलोपटक क्यान्सरका विषयमा नर्सिङको पढाइ सुरु गरेको छ। अस्पताल र पोखरा विश्वविद्यालय मिलेर संयुक्त रुपमा यो शैक्षिक कार्यक्रम सुरु भएको हो।अस्पताल परिसरभित्र रहेको कलेजमा ३ वर्षको बिएनएस नर्सिङको कक्षा सञ्चालन भएको हो। कलेजमा पहिलो वर्ष २० जना विद्यार्थी अध्ययन गरिरहेका छन्। पिसिएल नर्सिङ गरेका र केही समय अनुभवसमेत बटुलिसकेका विद्यार्थी हाल कक्षा लिइ रहेका छन्।

यस कलेजमा पढिरहेका २० जना छात्रामध्ये २ जना यस्ता छन्, जसले क्यान्सरकै कारण आफ्ना परिवारका सदस्य गुमाएका छन्। भरतपुर–१ कि करुणा श्रेष्ठले आफू १३ वर्षको हुँदा क्यान्सरकै कारण बुबा गुमाएकी थिइन्। अहिले करुणाको हजुरबुबालाई पनि छाती को क्यान्सर भएको छ। करिब एक वर्ष भइसक्यो। चौथो स्टेज पार भइसकेको क्यान्सरको उपचार अहिले केमोथेरापी विधिबाट भइरहेको छ।करुणाका बुबा ब्लड क्यान्सर भएर बितेको पनि १७÷१८ वर्ष पुग्यो। सानो उमेर भए पनि क्यान्सर भनेपछि त्यसको प्रभाव निकै गहिरो हुने उनको अनुभव छ।

‘त्यसमाथि क्यान्सरको उपचार नै हुँदैन भन्ने सुन्दा, छिट्टै बुबाको मृत्यु हुँदैछ भन्ने थाहा पाउँदा, बुबाले उपचारको क्रममा भोगेको अवस्था देख्दा निकै दुःख लागेर आउँथ्यो। मन भारी हुन्थ्यो। रुन मन लाग्थ्यो’, पुरानो समयलाई सम्झिँदै करुणाले भनिन्, ‘उहाँलाई त गाह्रो भइहालेकै छ, त्यसमाथि पीडा भन्ने चिज साट्न नमिल्ने, त्यस्तो देख्दा हामीलाई पनि निकै असह्य हुन्थ्यो।’करुणाको बुबा क्यान्सर भएको छ भन्ने थाहा पाएको एक वर्षमा बितेका रहेछन्। ‘म आफैं सानो छु, भाइ भर्खरै जन्मेको छ, अब हामीलाई कसले हेर्छ होला जस्तो लाग्थ्यो’, उतिबेला बालक मनले सोचेको कुरा उनले हामीसँग बाँडिन्।

बुबालाई क्यान्सर भएको बेलाजस्तो छैन अहिले उनलाई। पिसिएल नर्सिङको पढाइ सकेर केही वर्षको कार्यअनुभवपछि अहिले उनी यहीँ क्यान्सर विषय नै पढिरहेकी छिन्। क्यान्सरका बारेमा उनलाई सामान्य मानिसभन्दा धेरै कुरा थाहा भइसकेको छ। जसले गर्दा हजुरबुबाको स्वास्थ्य अवस्था, उपचारको प्रक्रिया, कुन चरणमा कस्तो किसिमका कठिनाइहरु देखा पर्छन् जस्ता विषयमा उनी जानकार छिन्। तर, आफूलाई पीडा भए पनि यस्तो अवस्थामा परिवारजनलाई हजुरबुबाको अवस्थाबारे बताउन भने अप्ठेरो लाग्ने गरेको उनले सुनाइन्।

‘हजुरबुबाको अवस्थाबारे उहाँ र परिवारलाईभन्दा पहिले नै मलाई थाहा हुन्छ। अनि उहाँलाई र परिवारका अन्य सदस्यलाई पनि सम्झाउँछु, बुझाउँछु।यो अवस्थामा चाहिँ दुःख र पीडा आफ्नो ठाउँमा भए पनि आफूलाई परिपक्व बनाउनुपर्ने रहेछ’, करुणाले आफ्नो अनुभव साटिन्।बुबालाई बिरामी भएर अस्पतालमा राख्दा नर्सहरुले गरेको स्याहारसुसार र हेरचाह देखेर नै आफूले पनि नर्सिङ पढ्न थालेको उनी बताउँछिन्।‘म पनि अरु कसैलाई बुबालाई अरु नर्सले दिए जसरी नै सेवा दिनसक्छु भन्ने लागेर नर्सिङ क्षेत्रमा आए की हुँ’, केही प्रसन्न मुद्रामा देखिएकी करुणाले थपिन्, ‘तर, अन्कोलोजी विषय रोज्नुमा चाहिँ बुबा अथवा हजुरबुबालाई यहि समस्या छ, म यही नै पढ्छु भनेर आएको होइन।

नयाँ विषय छ राम्रो होला भन्ने लागेर पढेको हुँ।’उपचारका क्रममा कहिलेकाहीँ यस्ता बिरामीलाई हेर्नुपर्छ, जसले गर्दा उनी पुनः बुबालाई क्यान्सर भएको क्षणसम्म पुग्छिन्। त्यस्तो बेला ती बिरामीप्रति अलि बढी सहानुभूति जागेर आउने उनले बताइन्।कोही क्यान्सर भएको बिरामीको बच्चा सानो उमेरको छ भने, उपचारको क्रममा आफ्नै पुरानो अवस्था सम्झिन्छु’, आवाजको गतिलाई केही कम गर्दै उनले भनिन्, ‘बुबाआमालाई ब्लड क्यान्सर भएको त्यस्तो बच्चालाई कुनै बेला आफूलाई भएकोजस्तै फिल भएको होला भन्ने ला ग्छ। त्यसबाहेक त हामीले उपचारको हकमा त कसैलाई बढी या कम सेवा दिने हेरचाह गर्ने भन्ने हुँदैन, इक्वेल्ली नै ट्रिट गरिन्छ।’

करुणाजस्तै ज्योतिनगर, चितवनकी सुजाता कौशल पनि क्यान्सरपीडित परिवारकै सदस्य हुन्। उनका हजुरबुबा पेटको क्यान्सर भएर बितेको दुई महिना मात्रै पुगेको छ।डेढ वर्षअघि मात्रै सुजाताका हजुरबुबालाई क्यान्सर भएको थाहा लागेको रहेछ। ‘अल्सर बिग्रिए पछि क्यान्सर भएको रहेछ।थाहा पाउँदा क्यान्सर तेस्रो र चौथो स्टेजको बीचमा थियो’,बीचमा केहीबेर रोक्किँदै सुजाता सम्वादमा जोडिइन्, ‘डाक्टरहरुले अप्रेसन गरौं भन्ने सल्लाह दिनुभयो।श्वास रहेसम्म आस रहन्छ भन्ने भयो। सोहीअनुसार अप्रेसन पनि ग¥यौं। तर , त्यो नै परिपूर्ण भएन।’

उनी कार्यरत रहेको अस्पताल सिएमसीमा नै हजुरबुबाको अप्रेसन भएको हो। हजुरबुबाको अप्रेसन गर्दा उनी पनि चिकित्सकको टोलीमै थिइन्। सुजाताले अस्पतालका ती दिन सम्झिइन्, ‘आफ्नै अगाडि हजुरबुबाको अप्रेसन हुँदै गर्दा केही फरक अनुभव त हुने रहे छ।तर राम्रो हुन्छ भन्ने विश्वासका कारण मनले हरेस भने खाएको थिएन।’त्यतिबेला उनले पूर्ण रुपमा हजुरबुबाको हेरचाहमा समय दिइन्।आइसियूमा रहँदा होस् या क्यान्सर अस्पतालमा केमोथेरापी गर्दा नै किन नहोस्,उनी बरोबर हजुरबुबाको नजिकमै हुन्थिन्। ‘दु ख्थ्यो बिचरा, तर के गर्ने त्यो रोग नै त्यस्तै हो’, सुजाता पुनः सम्वादमा जोडिइन्, ‘औषधिका कारण यो किसिमको असर देखिनसक्छ, नआत्तिनु भनेर सम्झाउँथें।

खाना तथा व्यायामहरुमा समेत ख्याल गर्न सुझाउँथें।’करुणालाई जस्तै सुजातालाई बिरामीको अवस्थाका बारेमा परिवारजनलाई बुझाउन अप्ठेरो लाग्ने रहेछ। स्वास्थ्यकर्मी भएकोले रोगका बारेमा जानकारी भएको भएर आफूलाई सम्हाल्नसक्ने अवस्था बनेको भए पनि त्यो समय परिवारलाई सम्हाल्न भने धेरै नै गाह्रो भएको अनुभव छ उनीसँग।‘हजुरबुबा शिक्षित हुनुहुन्थ्यो। डाक्टरसँगको हाम्रो वार्तालाप सुनेर केही हदसम्म शंका गर्ने अवस्था उब्जेको थियो उहाँलाई। तर, डाक्टरलाई परिवारबाट रोगका बारेमा बिरामीलाई नभन्दिनु होस् है भन्नुभएको थियो’, उनले भनिन्, ‘त्यो समय हजुरबुबाले के भएको हो भनेर सोध्दा पनि यही नै हो भनेर भन्नसक्ने स्थिति बनेन।’

अन्तिम स्टेजमा भएको बेला पनि क्यान्सरबारे हजुरबुबालाई भन्न नसकेकोमा उनलाई पीडा त हुन्छ तर गल्ती गरेजस्तो भने लाग्दैन। कतै रोगका बारेमा भन्दा हजुरबुबाको आत्मबलमा ह्रास आउँछ कि भन्नेमा उनी सचेत थिइन्। स्वास्थ्यकर्मी भएको कारण पनि उन लाई यसमा थप बल मिलेको थियो। अध्ययनकै क्रममा उनलाई सिकाइएको थियो, ‘त्यो समय त सबैभन्दा बढी परिवारको साथ चाहिने बेला थियो। यदि बिरामीको मनोबल बढाउने गरी परिवारले साथ दियो भने बिरामीको लाइफ एक्स्पेक्टेन्सी बढेर जान्छ।’हजुर बुबाको अवस्थाबारे नजिकबाट बुझेकी उनलाई सुरुको अवस्थामै क्यान्सरबारे जानकारी मिलेमा रोग निको हुन्छ भन्ने पनि थाहा लाग्यो।

त्यसमाथि धेरै कारणले क्यान्सर हुनसक्छ, क्यान्सरसम्बन्धी कुनै लक्षण या शंका लागेमा तुरुन्तै उपचार गराउनुपर्छ तथा क्यान्सर र त्यसका विविध आयामका बारेमा चेतना फैलाउन आवश्यक रहेकोमा उनी जोड दिन्छिन्। यस मान्यतामा आफू दृढ रहेकोले नै अहिले क्यान्सर विषय नै पढ्न आएको बताउँछिन् सुजाता।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *