बिचार/ब्लग

“जीवन आफ्ना लागि सबैले बाँच्न सक्छन्, तर अरुका लागि केही गरेर मर्नु नै महानता हो” : कलाकार हमाल

बाजुरा (रासस) नेपाली चलचित्र क्षेत्रका कलाकार राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गर्नुभएको छ । बाल स्याहारगृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आउनुभएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताउनुभयो ।हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहारगृहप्रति लक्षित गर्दै केपी खनाल सबैको प्रेरणाको स्रोत हुनुपर्ने बताउनुभयो ।

बहुसङ्ख्यक युवामा प्रतिभा भए पनि अवसर नपाएर शक्ति खेर गएको उहाँको भनाइ थियो । उहाँका अनुसार अवसरको कमी छ, राज्यले त्यसको प्रत्याभूति दिन सके युवाशक्तिलाई समृद्धिका लागि प्रयोग गर्न सकिन्छ । “जीवन आफ्ना लागि सबैले बाँच्न सक्छन्, तर अरुका लागि केही गरेर मर्नु नै महानता हो”, हमालले भन्नुभयो ।पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनाथको अभिभावक हुने सौभाग्य प्राप्त गर्ने परोपकारी व्यक्तित्व समाजका ‘आइडल’ भएको बताउनुभयो ।

गृह निर्माणकर्ता एवं कान्छो अभियानकर्मी खनालले साझा हित र परोपकारी कार्य राजनीतिक आस्था र स्वार्थभन्दा माथि राखेर गर्न आग्रह गर्नुभयो । क्लिन काष्ठमाण्डप अभियानका खनालले बाजुराजस्तो दुर्गम क्षेत्रमा आएर अनाथका लागि आश्रम बनाउन पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

खनालले ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं समाज सेवी लोकबहादुर टण्डन र कलाकार राजेश हमालको साथकै कारण अनाथ आश्रम बनाउन सफल भएको बताउनुभयो ।बाल स्याहारगृह अघिल्लो वर्षको वैशाख २५ गते शिलान्यास गरिएको थियो भने उद्घाटन पनि सोही दिन गरिएको हो । भवन रु ५० लाख बढी लागतमा निर्माण गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *