समाचार

आजबाट सुरु हुँदै कांग्रेसको राष्ट्रिय जागरण अभियान

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार मुलुकभर राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ । कांग्रेसले बुधबारबाट एकसाथ ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गर्न लागेको हो । सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । कांग्रेसले अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको जनाएको छ ।

काठमाडौँमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबिच उद्घाटन गर्ने छन् । अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिले उद्घाटन गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने उनले बताए ।

प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ । अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *