समाचार

प्रधानमन्त्रीकी छोरीसँग छैन किताब, न त पोशाक नै !

मुगु। गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगुमकाम रोगं गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामा पुस्तकबिना विद्यालय जान बाध्य भएकी छन। गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५ को शुभारम्भसँगै विद्यार्थी भर्ना अभियानको शुरुवातका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठिले साङ्गमुको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गराएका थिए । कक्षा १ मा प्रथम भई बैशाख २ गते बुद्ध माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना भएकी ठिल्ले साङमुको हातमा किताब छैन।

भर्ना भएको तीन सातासम्म पनि किताब उनको हातमा परेको छैन। उनी कक्षा १ मा ८३ प्रतिशत अंक ल्याएर प्रथम बनेकी हुन्। शिक्षकले पुस्तक आउँछ भन्दै दैनिक जसो टार्ने गरेको उनको गुनासो छ। उनका बाजे कार्माछेवाङ लामाले किताव नपाउँदा नातिनीले पढाइमा ध्यान नदिएको बताए। ‘विद्यालय त नियमित जान्छिन्’, उनले भने,‘तर पुस्तकविनै स्कुल पठाउँदा पढाइमा उनले जति ध्यान दिनुपर्ने हो त्यति दिन सकेकी छैन।’

पढाइ प्रभावित : प्रधानमन्त्रीकी छोरी ठिल्लेसाङमू लामाको हातमा पाठ्यपुस्तक नहुँदा पढाइ प्रभावित बनेको छ। उनी मात्र होइन प्रधानमन्त्री पत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङ छोन्जुङ लामाले पनि नयाँ पाठय पुस्तक पाउन सकेकी छैनन्। उनी अहिले कक्षा ३ मा भर्ना भएकी छन। उनको पनि पढाइ प्रभावित भएको छ । दुवैजना पाठ्यपुस्तक हातमा नहुँदा विद्यालय नियमित छैन । छिरिङछोन्जुङ झोलामा च्यातिएका पुराना र अधुरा किताब बोकेर विद्यालय जाने गरेकी छन्। किताब छैन भनेर बेला बेलामा विद्यालय जान आनाकानी गर्छिन।

नयाँ पोशाक छैन : प्रधानमन्त्रीकी छोरी ठिल्लेसाङमू र राधिका शाक्यकी छोरी छिरिङछोन्जुङ दुवैले अहिले सम्म नयाँ पोशाक सिलाउन सकेका छैनन्। घरको आर्थिक अवस्था कमजोर हुँदा उनीहरू पुरानो लुगामा विद्यालय जाने गरेका हुन्। बुद्ध माध्यमिक विद्यालयका शिक्षकका अनुसार विद्यालयका कुनै पनि विद्यार्थीले पुस्तक पाउन सकेका छैनन्।

चालु शैक्षिक सत्रको नयाँ पाठ्यपुस्तक आइ नपुग्दा विद्यार्थीको पठनपाठन अन्योलमा परेको उनको भनाइ छ। उनका अनुसार केही विद्यार्थीलाई पुराना पाठ्य पुस्तक दिइएको भए पनि पूरै सेट छैनन्। भर्ना अभियान सकी पढाइ सुरु भएकाे छ। अहिले पुराना किताब बाट काम चलाउँदै पठन-पाठन गराइएकाे विद्यालय स्रोतले जनाएको छ।

जिल्लामा पुस्तक ढुवानी गर्न सिफारिस लिएका तीनवटा स्टेशनरीले किताव नल्याउँदा समस्या भइरहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्य खत्रीले बताए । पाठ्यपुस्तक छिटो ल्याउन बारम्बार ताकेता गरिरहे पनि बेवास्ता गरिरहेको उनले जनाए । खत्याड गाउँपालिकामा भने पाठ्यपुस्तक ढुवानी भइ वितरणसमेत भइसकेको प्रमुख खत्रीको भनाई छ।

सल्लाको दियालोमा पढ्छिन् : सल्लाको दियालो बालेर पढ्छिन् प्रधानमन्त्री छोरी ठिल्ले साङमु र राधिका शाक्याकी छोरी छिरिङ छोन्जुङ लामा। दुवै जनाको घरमा आर्थिक अवस्था कमजोर भएकाले उनीहरूको घरमा उज्यालो बनाउने कुनै वस्तु छैन। उज्यालोका लागि सल्लाको दियालो प्रयोग गर्ने गरिन्छ। तर, त्यो पनि सजिलै पाइँदैन। उज्यालोका लागि सल्लाको दियालो ल्याउन एक दिनभरि जंगल जाने गरेको ठिल्ले साङमु आमा छिजु तामाङ लामाले बताइन्।

उनले भनिन्,’घरमा उज्यालो गर्ने अन्य साधन नभएपछि सल्लाको दियालो बाल्ने गरेका छौँ । छोरीले पनि अध्यारोको समय सल्लाको दियालो बालेर पढ्ने गरेकी छिन् । ‘विद्यालयमा कस्तो पढ्छिन् थाहा छैन । तर घरमा घरायसी समस्याले पढ्न खासै पाउँदिनन्’ उनले भनिन, ’सोलार किन्ने पैसा छैन। खेतीपाती गरौँ जग्गा छैन। तीन महिनासम्म पनि खाना पुग्दैन। श्रीमान् तीन वर्ष पहिले बित्नुभयो। सबै जिम्मेवारी ममाथि थपिएको छ । प्रधानमन्त्रीले छोरीलाई स्कुल त भर्ना गरीदिनु भयो। कापी कलम किन्न भने समस्या छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *