समाचार
३ वटा ट्रक एकआपसमा ठोक्किए, १० जना घाइते, ३ जनाको अवस्था गम्भीर
मकवानपुर । मकवानपुरमा तीनवटा ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एक आपसमा ठोक्किँदा घाइते भएका १० जना मध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइते सबैको उपचारका लागि चितवनको भरतपुर पठाइएको बताइएको छ । घाइते हुनेमा तीनै ट्रकका चालक सहचालक र केही यात्रु पनि छन् ।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएर दुर्घटना भएको हो ।
शनिबार बिहान साढे ९ बजे भएको सो दुर्घटनाको कारण एक ट्रकले अर्कोलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।