समाचार

राजधानीमा फिल्मी शैलीमा घरधनीको हातखुट्टा बाँधी, मुखमा टेप टाँसीसिएर दिउँसै लुटपाट गर्ने तीन जना प्रहरी फन्दामा !

काठमाडौं, ८ बैशाख । काठमाडौंमा दिउँसै लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२९ रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा दिउँसै लुटपाट गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-८ मातातीर्थका ३८ वर्षीय नवराज तामाङ, चन्द्रागिरी-८ मातातीर्थकै ३६ वर्षीय विक्रम श्रेष्ठ र नुवाकोटको बेलकोटगढी नगरपालिका-४ कथुरानी घर भई नैकाप बस्दै आएका २८ वर्षीय दिपेश भनिने सन्तबहादुर तामाङ छन् ।

उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यो समूहमा रहेका अन्य तीन जना लुटेरा भने अझसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले गत चैत २६ गते दिउँसो साढे ११ बजे शेरचनको घरमा सुनका गरगहना भएको थाहा पाएपछि योजना नै बनाएर लुटपाट गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।

घरधनी लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र घरमा काम गर्ने मिठु थकालीलाई नियन्त्रणमा लिएर उनीहरुले लुटपाट मच्चाएका थिए । ६ जनाको समूहमा रहेका ती लुटेराले सो घरका तीनै जनालाई हातखुट्टा बाँधेर लुटेको एसएसपी सिंहको भनाइ छ । जुटको डोरीले हातखुट्टा बाँधेर मुखमा समेत टेप लगाएर खुकुरी तेर्साउदै उनीहरुले लुटेका थिए ।

‘केही व्यक्तिले हातखुट्टा बाँध्ने, केहीले खुकुरी तेर्स्याएर धम्काउने र केही व्यक्तिले दराज फोडेर गरगहना र नगद लुटपाट गरेको देखियो,’ एसएसपी सिंहले भने ।

दराजमा भएको गरगहना र नगद गरी उनीहरुले ५ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटेराको साथबाट सुनको तिलहरी बरामद गरेको छ भने अन्य गरगहनाहरु फेला परेका छैनन् ।

त्यस्तै लुट्न प्रयोग भएका ट्याक्सी र कारसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बा २ ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ कलेजी रङको कार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *