समाचार
कहाँ जान्छ विदेशको कमाइ ?
४ वैशाख, जनकपुर । रतौली, महोत्तरीका रामसविन ठाकुर (३६) साउदी अरबबाट फर्किएको एक वर्ष पुग्न लाग्यो । पटक–पटक गरी आठ वर्ष विदेशमा बिताएका उनले त्यहाँको कमाइबाट गाउँमै सानो घर र घडेरी जोडेका छन् ।
वैदेशिक रोजगारीमा छँदा बचतसमेत गर्ने ठाकुरलाई घरमा आएर बस्न थालेको ६ महिना पुग्दा नपुग्दै घर खर्चले पिरोल्न थाल्यो । ‘आम्दानीको स्रोत नभएपछि छोराछोरीको बोर्डिङको शुल्क पनि महंगो जस्तो लाग्दोरहेछ’, उनी भन्छन् ।
केही सीप नलागेपछि ठाकुर सैलुन खोल्ने निर्णयमा पुगे । बलवा–जनकपुर सडकखण्डको शिव–बज्रंगबली मन्दिर नजिकै सैलुनमा कपाल काटिरहेका उनले अनलाइनखबरसँग भने, ‘परिवार छाडेर फेरि विदेश जान मन त छैन, तर ठूलो व्यवसाय गर्न मसँग पैसा छैन ।’महोत्तरीका रामसविन ठाकुर वा धनुषाका मोहम्मद अख्तरहरूले विदेशमा सिकेको सीप, अनुभवलाई सदुपयोग गर्न सरकारी स्तरबाटै पहलकदमी लिन आवश्यक देखिन्छ
सैलुनको कमाइले घर चलाउन धौ धौ परेको ठाकुरको भनाइ छ । १० महिना पहिले विदेश नजाने गरी फर्केका ठाकुरले गल्फकै कुनै देशको भिसा लगाउन एजेन्टलाई राहदानी बुझाइसकेका रहेछन् ।
साउदी बाहेक अरु कुनै देशमा जाने उनको चाहना रहेछ । ठाकुर भन्छन्, ‘राम्रो कमाइ भयो भने पैसा बचाएर नेपालमै बिजनेस शुरु गर्छु ।’
लहना, धनुषाका मोहम्मद अख्तर (३३) ले पनि साउदी अरबमा ८ वर्ष बिताए । अंशमा पाएको घडेरीमा दुई तले घर पनि बनाइसकेका छन् । आफू विदेश बस्दा छोराछोरीको पढाइमा असर पुगेको भन्दै उनी स्वदेशमै केही गर्ने सोच बनाएर फर्किएका छन् ।
पछिल्लो केही वर्षयता साउदीमा विदेशी कामदारलाई राम्रो व्यवहार हुन छाडेको अनुभव गरेका अख्तरले काठमाडौंको कपन (मिलनटोल) मा जुत्ता–चप्पल पसल शुरु गरे । तीन लाख १० हजार रुपैयाँमा किनेको पसलबाट घरखर्च चल्नु त कता हो कता, पसलको भाडा तिर्न पनि मुस्किल पर्न थाल्यो ।
कमाइ नभएपछि पसल बेचेर उनी धनुषा फर्किसकेका छन् । रामसविन ठाकुरजस्तै उनी पनि फेरि विदेश जाने सोचाइमा पुगेका छन् । उनी भन्छन्, ‘फेरि गल्फ देशमा त जान्न होला, राम्रो देशको भिसा लाग्यो भने चाहिँ घरमा बस्दिनँ ।’
अख्तर अहिले व्यावसाय शुरु गर्नका लागि पर्याप्त पुँजी चाहिने निश्कर्षमा पुगेका छन् । दुई वर्षे छोरीलाई काखमा लिँदै अख्तर भन्छन्, ‘विदेशबाट कमाएर ल्याएको पैसा व्यापार–व्यावसायमा लगाउनुपर्ने रहेछ ।’
नेपालमै केही गर्छु भनेर फर्केकाहरू समेत केही समय घरमा बसेपछि कसरी पुनः विदेश जाने सोचाइमा पुग्छन् भन्ने ठाकुर र अख्तरको मनोविज्ञानले देखाउँछ ।

वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा पनि ठूलो संख्यामा पुनः विदेश गइरहेको देखिन्छ । आर्थिक वर्ष ०७४/०७५ मा दुई लाख ५८ हजार ६०३ जना पुनः श्रम स्विकृति लिएर विदेशिएको देखिन्छ । उनीहरूलाई स्वदेशमै रोक्ने हो सरकारीस्तरबाटै पहल गर्नुपर्ने जानकारहरू बताउँछन् ।
अर्थशास्त्री पोषराज पाण्डे विदेशमा सिकेको ज्ञान, सीप र काम गर्ने बानी (वर्कीङ ह्याविट) लाई उपयोग गर्न सरकारी नीति आवश्यक रहेको बताउँछन् । पुँजीको व्यवस्था सरकारले नै गरिदिनुपर्ने उनको सुझाव छ ।
उद्यमशीलतामा जम्मा एक प्रतिशत !
गत आर्थिक वर्षमा विदेशमा रहेका नेपालीहरूले ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स पठाए । यो रकम कुल ग्राहस्थ उत्पादन (जीडीपी) को २५ प्रतिशत हो । तर, यसरी भित्रिएको रेमिट्यान्स उद्यमशीलतामा भने निकै कम प्रयोग हुने गरेको छ ।
नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार १.१ प्रतिशत रकम मात्रै उत्पदानमुलक क्षेत्रमा प्रयोग भइरहेको छ । २४ प्रतिशत खाद्यान्न तथा लत्ताकपडा लगायत दैनिक उपभोग्य वस्तु खरिद, १० प्रतिशत शिक्षा र उपचार, साढे तीन प्रतिशत विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्य, तीन प्रतिशत घरायसी सम्पत्ति खरिद तथा साढे पाँच प्रतिशत अन्यमा खर्च हुने गरेको छ ।
रेमिट्यान्सको सबैभन्दा ठूलो हिस्सा अर्थात २५.३ प्रतिशत साहु महाजनको ऋणको साँवा व्याज तिर्नमा खर्च भइरहेको छ । विप्रेषण प्राप्त गर्ने घर परिवारको बचत तथा लगानी प्रवृत्ति शीर्षकमा राष्ट्र बैंकले ०७३ सालमा गरेको अध्ययन अनुसार ५२ प्रतिशतले वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्चको स्रोत साहु महाजन/व्यापारी हो ।



