समाचार
हावाहुरी प्रभावित क्षेत्रमा पुनः हुरीले टेन्ट उडायो, पीडितको बिचल्ली
बारा । मौसम बदली भई मंगलवार साँझ एक्कासी असिनापानीसँगै आएको हुरीले फेटा गाउँपालिकाका कतिपय हुरीपीडितहरुको टेन्ट उडाएको छ।फेटा गाउँपालिका–१, भलुही भरबलीया, वडा ६ को पुरैनिया र वडा नम्बर ३ को गछीया टोलमा दाताले दिएको दर्जन भन्दा बढी टेन्ट उडाएको वडा ६ पुरैनियाका वडाध्यक्ष जाकिर मियाँले बताए। ‘हुरी र पानीले बसिनसम्नु बनाएको छ,’ उनले भने, ‘भीषण पानीले कतिको टेन्टमा पानी पसेको छ भने कतिपयको हुरीले टेन्ट नै उडाएको छ । रात कसरी काट्ने भन्ने चिन्ता छ।’ उता वडा १ भलुही भरबलीयाका वडाध्यक्ष जयप्रकाश दासले हुरीले ५र६ जनाको टेन्ट उडाएको बताए। नेपाली सेना र सशस्त्र प्रहरीले बनाइदिएको टेन्टमा उकुुसमुकुस भएर बस्दै आएका हुरीपीडितहरुको टेन्ट उडाएपछि झन् विजोग भएको उनले बताए।

टेन्ट उडाएपछि बालबालिका र महिलाहरुलाई विच्चली भएको उनले बताए। दुई साताअघि आएको टोर्नेडोले घरविहिन बनाएपछि फेटा लगायत बाराका सयौं पिडितहरु टेन्टमा आश्रय लिएर बस्दै आएका थिए। गत चैत १७ मा आएको शक्तिशाली चक्रवातपछि यस क्षेत्रमा पटकपटक हावाहुरी र असिनापानी पर्दै आएको छ।टेन्टमा खाँदिएर बस्दै आएका हुरीपीडितहरुले आफुहरु घर न घाटको भएको बताएका छन्। दुई हप्ताभित्र हुरी प्रभावित क्षेत्रमा ३ पटक हावाहुरी र पानी परेको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।



