जनकपुर, १२ वैशाख । लागू पदार्थ दुर्व्यवसनमा फसेका एक यूवाले आफ्नै श्रीमतिलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् । धनुषाको शहिद नगरपालिका वडा नम्बर १ स्थित पुरवारी टोल चिरैया बस्ने २४ वर्षीय मुकेश गोइत यादवले नसाको सुरमा पत्नी निर्मला यादवलाई आगो लगाउने कोशिष गरेका हुन् । घरमा कोही नभएको बेला श्रीमतीलाई कुटपिट गरेर हातखुट्टा बाँधेर जलाएका थिए ।

१० महिना अघि मात्र विवाह गरेका उनले श्रीमतीलाई आगो लगाएका हुन् । आगोका कारण श्रीमतीको ७० प्रतिशत भन्दा बढि छाला जलेको छ । जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाडौँ स्थित वर्न होस्पिटलमा उपचार भइरहेको छ ।
पीडित महिलाका आफन्तका अनुसार वैशाख ५ गते निर्मला एक्लै भएका बेला लागु पदार्थ तथा मदिरा सेवनमा नसाले मातिएका मुकेशले श्रीमतीलाई कुटपिट गर्दै मट्टीतेल छर्केर आगो लगाएका थिए । निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए ।


