पर्वत – २१ वर्षीय रेशम सुवेदीले आँफुलाई प्रहरी भएको बताउँदै चोरी, डकैती गर्ने र सर्वसाधारणलाई दुख दिने गर्दै आएका थिए । घटना हो पर्वतको । आफूलाई सादा पोशाकको प्रहरी भएको बताउँदै चोरी डकैतीमा संलग्न सुवेदीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । प्रहरीले पर्वतको जलजला गाउँपालिका–६, शालिजाका सुवेदीलाई आइतबार दिउँसो कुश्मा नगरपालिक स्थित कुश्माबजारको शिवालयचोकबाट नियन्त्रणमा लिएको जनाएको छ ।

आरोपित सुवेदीले बाग्लुङ नगरपालिका १४ बलेवा बस्ने छत्रमान सुवेदीको घर कोठाबाट एक थान मोबाइल र नगद ३३ हजार, पर्वत कुश्मा नगरपालिका २ खुर्कोट बस्ने गायत्री उपाध्यायको घरकोठाबाट नगद ६ हजार, पर्वत जलजला गाउँपालिका ३ माझफाँट बस्ने लक्ष्मी जिसीको घरकोठाबाट ६ हजार नगदसहित एक तोलाको सुनको सिक्री र आधा तोलाको सुनको बेरुवा औँठीलगायतका जिन्सी तथा नगद चोरी गरेको प्रहरीले जनाएको छ ।
सुवेदी यसअघि पनि २०७२ मंसिरमा चोरीसम्बन्धी कसुरमा नै नियन्त्रणमा रहेर पर्वत जिल्ला अदालतबाट ३ वर्ष कैद सजाय भुक्तान गरेर २०७५ माघमा छुटेपछि विभिन्न समयमा चोरी कार्यमा संलग्न रहेको प्रहरीबो दाबी छ ।


