समाचार
शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध
सोलुखुम्बु / बुधबार ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भएको छ । सोलुखुम्बुको मात्र नभई देशकै खम्बाको रुपमा रहेका पर्यटन व्यवसायी शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध बनेको छ । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका–१ मा जन्मिनु भएका शेर्पा पर्यटन क्षेत्रको एक सफल व्यवसायी हुनुहुन्थ्यो । उहाँको निधनले समग्र जिल्ला र देशकै पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिनिधिसभा सदस्य हेमकुमार राईले दुःख व्यक्त गर्नुभएको छ ।

“परिवार नै पर्यटन क्षेत्रमा भएका कारण उहाँको योगदान सोलुखुम्बुले कहिल्यै भुल्दैन”, राईले भन्नुभयो, “जिल्लाको समग्र पर्यटन प्रर्वद्धन गर्ने सन्दर्भमा महत्वपूर्ण योजना निर्माण गरेका थियौँ, शेर्पाका लागि त्यो योजना मै सिमित भयो ।” यति एयरलाइन्सका अध्यक्षसमेत रहेका शेर्पाले खुम्बुको लुक्लासम्म सडक पु¥याउन निकै प्रयास गर्दै आउनुभएको थियो । “यस वर्षनै उहाँले दिलो ज्यान दिएर लुक्लासम्म सडक पु¥याउने भनेर लाग्नुभएको थियो ”, सांसद राईले भन्नुभयो, “उहाँको त्यो सपनालाई हामी पूरा गरेर छाड्छौँ ।”