समाचार
विकासका नायक बन्न प्रदेश सभासद्लाई निर्देशन
धनगढी,८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उहाँले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेशसभासद्लाई आग्रह गर्नुभयो । सङ्घीय सरकार र मातहतका कार्यालयबाट सुदूरपश्चिम प्रदेशलाई चालू आर्थिक वर्षमा रु २८ अर्ब ८४ करोड छुटयाइएको छ ।

उहाँले पहिलो वर्ष कानून निर्माण, कर्मचारी, कार्यालय व्यवस्थापन र नेपालको भविष्यको बाटो तय गर्ने आधार वर्षका रुपमा बितेको र अब जनता आवश्यक शिक्षा, स्वास्थ्य, आवास, लुगा, खानाजस्ता कुरा धेरै वर्ष कुरेर बस्न नसक्ने भएकाले तीनै तहका सरकार मिलेर विकासका काम अघि बढाउनुपर्ने बताउनुभयो । “सुदूरपश्चिममा पर्वतारोहण, पदयात्रा, मन्दिर–तीर्थस्थल, शुक्लाफाँटा आरक्ष आदिमा पर्यटकको आकर्षण छ । महाकाली, कर्णाली र सेती नदीबाट विद्युत् र सिँचाइको सम्भावना छ”, प्रधानमन्त्रीले भन्नुभयो, “औद्योगिक क्षेत्र स्थापना भएपछि लगानीकर्ता पैसा, प्रविधि र मेसिन लिएर त आउनेछन् तर जग्गाको सहजता मिलाइदिनुहोला ।”
