समाचार
झारपातबाट सुन्दर चित्र बनाउदै मिलन
काठमाडौँ,१८ माघ । पोखरा महानगरपालिका माछापुच्छ्«े मार्गस्थित मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्ता वरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ ।जापान बसाईका क्रममा सिकेको हानानो ओशिआना सीपलाई नेपाल फर्केपछि प्रयोगमा ल्याएर कला क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल हुनुहुन्छ कलाकार मिलन शेरचन । हानानो ओशिआना अर्थात् सुकाइएका झारपातबाट चित्र बनाउने कलाले स्थापित गरेको छ शेरचनलाई ।

हानानो ओशिआना जापानी शब्द हो । दाजु अमेरिकामा भएका कारण उहाँलाई पनि अमेरिका जाने अवसर मिल्यो । केही समय अमेरिका बसाइपछि त्यतैबाट उहाँ जापान छिर्नुभयो । जापान बसाइमा साइतो सान भन्ने साथीसँग उहाँ एउटा कला प्रदर्शनीमा पुग्नुभयो । त्यहाँको कलाबाट उहाँ प्रभावित हुनुभयो । जापानी कलाकार नोहारा उमीबाट हानानो ओशिआनाका बारेमा सिक्नुभयो । जापान बसाइकै क्रममा पहिलेदेखिकै चिनजान भएका सत्यनारायण शेरचनसँग उहाँको विवाह भयो । बिहेको केही समयपछि उहाँहरू दुवै नेपाल फर्कनुभयो ।

