समाचार
अर्थमन्त्री खतिवडाको ‘ढाल’ बने प्रचण्ड

काठमाडौं, २६ साउन । सरकारमा मन्त्रीहरूको हेरफेरको तिव्र तयारी भइरहेका बेला अर्थमन्त्री युवराज खतिवडालाई भने बलियो ‘व्याकप’ मिलेको छ ।
सरकारमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मा दिएका खतिवडाको तिव्र आलोचना भइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उनको ‘ढाल’ बनेका छन् । प्रचण्डले प्रस्ट शव्दमा भने,‘अर्थमन्त्री परिवर्तन हुँदैनन् ।’
राष्ट्रिय सभाको सदस्य बनाउँदै अर्थमन्त्रीको जिम्मेबारीमा आइपुगेका खतिवडालाई भारतीय एजेन्सीको समेत समर्थन रहेको चर्चामा थियो । ओलीले भारतीय एजेन्सीको सुझावका आधारमा नै खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेको बताइएको थियो ।
करको दायरा बढाएर जनताको ढाड सेकेको भन्दै अर्थमन्त्रीको विरोध भइरहेका बेला प्रचण्डले चितवन पुगेर खतिवडाको बचाउ गरेका छन् । अन्य मन्त्रीहरू हेरफेर हुनसक्ने उनको धारणा थियो ।
‘करको दायरा बढाएर जनतामा निराशा आयो भन्ने विषयमा सरकार गम्भिर छ, पार्टी पनि गम्भिर छ । तर बजारमा अर्थमन्त्री फेर्ने भन्ने हल्ला आएको छ त्यो गलत हो’, चितवनको एउटा कार्यक्रममा शनिबार उनले थपे,‘सरकारको कामको समिक्षा पार्टीले गरिरहेको छ, पार्टीको समिक्षाका आधारमा नै सरकार अघि बढ्ने हो ।’
कतिपय ऐन कानुन नबन्दा प्रदेश सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका प्रचण्डले संघीयता खतरामा परेको भनेर आफुले नभनेको पनि प्रस्ट्याए ।
यसैबीच सरकारले केही मन्त्रीहरूलाई हटाउने तयारी थालेको छ । तिव्र विवादमा आएपछि तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए । मन्त्रीहरू रवीन्द्र अधिकारी, रघुवीर महासेठलगायतलाई हेरफेर गर्ने अथवा हटाउने तयारी भएको उच्च स्रोतले जनाएको छ ।

