खेलकुद

फूटबल मैदानमा महिला पत्रकार

 काठमाडौँ, १२ साउन / ‘मैदानमा महिला पत्रकार, प्याराफिटामा पनि अधिकांश पत्रकार नै,’ शनिबार सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) फूटबल मैदानमा देखिएको दृश्य हो यो ।

सधैंभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षण हुने सातदोबाटोस्थित एन्फा फूटबल मैदानमा शनिबार महिला पत्रकार एक आपसमा भिड्दाको दृष्यले छुट्टै रौनक दिएको थियो ।

अघिपछि खेलकूदका समाचार संकलन गर्न जाने महिला सञ्चारकर्मीले शनिबार आफैँ खेलाडी बनेर फूटबलको मज्जा लिए । अन्य प्रतियोगिता चल्दा हातमा क्यामेरा र बुम हातमा लिएर प्यारफिटबाट कसले गोल हान्छ भनेर कुर्ने उनीहरु आज आफैँ कसरी गोल हान्ने भनेर बलको पछि दगुरे ।

नेपाल पत्रकार महासंघ महिला विभागले पहिलो पटक ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगितामा प्रिन्ट, टेलिभिजन, अनलाइन र रेडियोमा कार्यरत महिला सञ्चारकर्मीबीच मैत्रीपूर्ण खेल खेलाइएको हो ।

प्रतियोगितामा अचम्म के रह्यो भने वर्षौंदेखि खेलकूदका समाचार संकलन गरेका महिला पत्ररकारमा फूटबलको सामान्य नियम पनि जानकारी नभएको पाइयो । जब खेलमा फल हुन्थ्यो महिला रेफ्रीले सिठी फुकेर फल लिन्थिन् तर, खेलाडी मैले फल गरेको छैन भन्दै रेफ्रीको निर्णयको प्रतिवाद गर्थे । कस्तो गल्तीमा फ्रिकिक, कर्नर र थ्रो गर्ने भन्ने सामान्य ज्ञानसमेत खेलाडीमा देखिएन ।

नियमानुसार एकपटक खेलाडी परिवर्तन भएर मैदानबाट बाहिर निस्किएका खेलाडी पुनः मैदान प्रवेश गर्न पाउँदैन, तर महिला पत्रकार बाहिर निस्केको केहीबेरमै मैदान प्रवेश गर्न पाउनुप¥यो भन्दै रेफ्रीलाई दबाब दिएको दृश्य हेर्न लालयीत हुन्थ्यो । अर्कोतर्फ जब खेलाडी परिवर्तन गर्न खोज्यो खेलाडी बाहिरै आउन नमान्ने दृश्य झनै रोचक थियो ।

झनै प्रिन्ट मिडियाद्वारा पराजित भएपछि रेडियोका खेलाडीले मैदानमै देखाएको व्यवहार लाजमर्दो नै थियो । पराजय भएपछि उनीहरु रेफ्री र अफिसिलमाथि आइलागेका थिए ।

तीन वर्षअघिदेखि एन्फामा रेफ्रीका रुपमा कार्यरत राधिका शाक्यले आजको खेल अचम्मको भएको प्रतिक्रिया दिइन् । महिला सञ्चारकर्मीमा फूटबलबारे सामान्य खाले जानकारीसमेत नभएको बताइन् । खेलमा धेरै गल्ती भए पनि आफूहरुले कार्ड प्रयोग गर्नुको सट्टा खेलाडीलाई सम्झाउँदै खेल खेलाएको बताइन् । तर कतिपयले सम्झाउँदासमेत नमानेको उनको भनाइ छ ।

भर्खरै सगरमाथा अरोहण गरेकी कारोबार राष्ट्रिय दैनिककी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले मैदानमै गएर फूटबल खेलेको जीवनकै पहिलो अनुभव भएको बताइन् । उनले भनिन्, “रमाइलो भयो तर, नियमपूर्वक खेल्न सकिएन ।”

त्यस्तै कान्तिपुरकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव पनि उस्तै रह्यो, उनले भनिन् “फूटबल खेल्न भन्दा फोटो खिच्नै सजिलो ।”

अर्की सञ्चारकर्मी प्रगति ढकालले मैदानमै फूटलब खेलेको पहिलो अनुभव भएको बताउँदै यस्ता खाले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *