कालीकोट, २० असार जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् ।
ती गाउँमा कुनै पनि निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि सुक्खा पहिरोले सताएको पचालझरनाको खार्दु, शुभकालिकाको छाती र नरहरिनाथको माझगोठीमा समस्या आएको छ ।
लगातारको वर्षाले गर्दा तीन स्थानका बासिन्दाको निद्रा हराम हुने गरेको पचालझरनाका चम्फसिं बस्नेतले बताउनुभएको छ । उहाँका अनुसार सुक्खायाममा गएको पहिरोको डरले अहिले बस्तीका बासिन्दा गाउँमा भन्दा पनि गोठतिर स्थायी बसोबास गर्न थालेको दुई वर्ष भइसकेको छ ।
तलतिर गाउँ छ, माथिल्लो भाग दरार भएर जोखिमयुक्त गाउँमा बस्न असुरक्षाका कारण अधिकांश स्थानीयबासी खार्दुको गाउँ छाडेर डुंग्री, कांग्रे, डाँडागाउँ, खिब्लालगायतका ठाउँमा बसाइँ सरेको बताइएको छ ।
अहिले पचालझरना गाउँपालिकाका वडा नं ३, साविकको राम्नाकोट गाविसको वडा नं ७, ८ र ९ रहेको सो बस्तीमा ३०० घरधुरी रहेको बताइएको छ । सो गाउँलाई पाँचवर्ष अघि बसाइँ अन्य जिल्लामा सार्ने भनिए पनि बेवास्ताका कारण जोखिम मोल्न बाध्य भएको स्थानीय बताउँछन् ।
त्यसैगरी, शुभकालिका गाउँपालिकाको वडा नं १ छातीको बस्तीको तल्लो भागबाट पहिरो गएको एक वर्ष भयो कसैको ध्यान नगएका कारण अहिलेसम्म ती बस्तीका एक दर्जन घरका बासिन्दाको उठिबास भएको छ ।
गएको वर्ष गोठमा बसेका स्थानीय हिउँदको समयमा घरमा आए पनि अहिले भने पुनः गोठमा फर्केका छन् । स्थानीय अर्जुन सुनारका अनुसार आफूहरुले पुनर्वासका लागि पहल चालेको भएपनि कुनै पनि निकायको ध्यान जान सकेको छैन ।
यस सम्बन्धमा शुभकालिका गाउँपालिकाका प्रमुख खडानन्द चौँलागाईले सो बस्तीका ११ घरपरिवारलाई वैकल्पिक व्यवस्थामा जोड दिएको बताउँदै अहिले अति जोखिममा रहेको अमृते सुनारलाई अन्यत्र व्यवस्था गरिएको र अन्य घरपरिवारलाई तत्काल उचित व्यवस्थापन गर्न लागेको बताउनुभएको छ ।
त्यसैगरी, पाँचवर्ष पहिलेदेखि पहिरोको जोखिममा रहेको नरहरिनाथ गाँउपालिका–४ को माझगोठीमा गाउँको तल्लो भागमा पहिरोले जमीन भाँसिदै गएपछि सो बस्तीका स्थानीयको विचल्ली भएको छ ।
वर्षाको समयमा आफूहरु घर छोडेर बस्नुपर्ने बाध्यता आइलागेको बताउनुहुन्छ स्थानीय टेकबहादुर विक । ४० घर रहेको सो दलित बस्तीमा अहिलेसम्म गाउँपालिकालगायतका निकायमा बस्तीको जोखिम कम गर्नका लागि मागसहित पहल गरेपनि कसैको ध्यान नगएको बताउँदै जीवन विकले आफूहरुका लागि ध्यान दिने न त स्थानीय निकाय छ न त कुनै माथिल्लो सरकार, आफूहरुले राखेको माग पुनर्बास हो कुनै पनि निकायले ध्यान नदिएको जीवनको गुनासो रहेको छ ।


