अफगानिस्तानमा चार दिने पोलियो खोप अभियान सुरु

अ+
अ
अ-

अफगानिस्तानमा सोमबारदेखि चारदिने पोलियोविरुद्धको खोप अभियान सुरु भएको छ । यस अभियानमार्फत एक करोड २८ लाख बालबालिकालाई खोप दिने लक्ष्य राखिएको सरकारी समाचार संस्था बख्तर न्युज एजेन्सीले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार पाँच वर्षमुनिका बालबालिकालाई पोलियोबाट बचाउन खोपका थोपा खुवाइनेछ । पोलियोले बालबालिकामा स्थायी अपाङ्गता निम्त्याउन सक्छ ।

अभियानअन्तर्गत बालबालिकालाई आन्द्रामा हुने जुका संक्रमणबाट बचाउन ‘अल्बेन्डाजोल’ चक्कीसमेत दिइनेछ ।

अभियानको शुभारम्भका क्रममा सार्वजनिक स्वास्थ्य मन्त्री मौलवी नुर जलाल जलालीले अभिभावकलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियो खोप दिलाउन आग्रह गर्नुभयो ।

उहाँले अफगानिस्तानलाई पोलियोमुक्त बनाउने प्रयास सफल पार्न सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।