एसियाली राजमार्गमा बिना अवराेध धमाधम स्तराेन्नती,ओभरपास व्यवस्थित बन्दै

अ+
अ
अ-

भद्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ ।

स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा देखिएको समस्याले अवरोध सृजना भएपछि जिल्ला प्रशासन कार्यालय झापाले समाधानका लागि तत्परता देखाएको हो ।

सडक निर्माणमा देखिएका समस्या पहिचान गरी समाधानको बाटो खोज्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

निर्माण कम्पनी इभ्रास्कन–कालिका जेभीका क्षेत्रीय महाप्रबन्धक उज्ज्वल प्रसाईँका अनुसार स्थानीयको माग र निर्माण सामग्री उपलब्धतामा देखिएको समस्याले सडक निर्माण प्रभावित भइरहेको छ । सुरुआती डिजाइनमा परिवर्तन गरी सडकलाई व्यवस्थित र यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासीले माग गरेपछि कतिपय स्थानमा काम रोकिएको उहाँले बताउनुभयो ।

“एकातिर सरकारले समयमै काम सक्न भन्छ, अर्कातिर यहाँ विभिन्न अवरोध छन् । भनेको समयमा निर्माण सामग्री उपलब्ध हुँदैन”, प्रसाईँले भन्नुभयो, “ओभरपास निर्माणका लागि फिलिङ गर्न आवश्यक माटो उपलब्ध भएको छैन । तीन लाख घनमिटर माटोका लागि आवश्यक राजस्व बुझाइसक्दा पनि स्थानीय तहबाट प्रक्रिया अघि नबढ्दा काम प्रभावित भएको छ ।”

आयोजनाका इन्जिनियर आश्रय महतका अनुसार काँकरभिट्टामा डिजाइनमै नभएको ओभरपास निर्माण गर्नुपर्ने, धुलाबारीमा बस स्ट्यान्ड व्यवस्थापन, चारआलीको ओभरपास क्षेत्रमा अवरोध तथा विद्यालय क्षेत्रमा ओभरपास निर्माण गर्नुपर्ने मागले काममा समस्या भएको छ ।

आयोजना निर्माणका क्रममा स्थानीय मागसँगै विद्युत् पोल स्थानान्तरण र निर्माण सामग्रीको स्रोत तथा आपूर्तिमा समस्या देखिएको छ । सडक विस्तारका लागि सहरी क्षेत्रमा रहेका विद्युत् पोल समयमै स्थानान्तरण हुनसकेका छैनन् । त्यस्तै, कालोपत्रका लागि आवश्यक अस्फाल्ट चिप्स र प्रबलित माटोको पर्खाल (आरई वाल) निर्माणमा प्रयोग हुने ब्याकफिलिङ सामग्रीको स्रोत तथा नियमित आपूर्तिमा कठिनाइ रहेको आयोजना कार्यालयले जनाएको छ ।

यिनै समस्या समाधानका लागि निर्माण कम्पनी तथा आयोजनाका प्रतिनिधिले गत साताको मङ्गलबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी पोखरेललाई जानकारी गराएका थिए । समस्याका बारेमा स्थलगत जानकारी लिन प्रशासनले आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकको निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले आवश्यक सामग्रीको अभाव हुन नदिन र स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न सरोकारवालासँग विभिन्न चरणमा छलफल गरिएको बताउनुभयो ।