टुकी न्युज विशेष

शुक्रबार शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, ग्रहण लाग्दा के गर्ने, के नगर्ने ?

काठामाडौं ११ साउन । काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिए ।
खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुने उनले बताए ।

कूल तीन घण्टा ५७ मिनेट ग्रहण रहनेछ । चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ ।

ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ ।

ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णयसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

यसैगरी, तेल लगाउन, खानपिन गर्न, कसैलाई बन्धनमा राख्न र मार्न पनि नहुने व्यवस्था छ । धर्मसिन्धु, निर्णयसिन्धुलगायत ग्रन्थमा भनिएको छ–

निद्रायां जायते व्याधि मूत्रे दारिद्रयमाप्नुयात् ।

पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकरः ।।

अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधोगति ।

वन्धनं च भवेत् सर्पः वधे च नरकं व्रजेत् ।।

अर्थात् “सुते रोगी, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरेर गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म, मारे नरकमा पर्ने शास्त्रीय भनाइ छ”, उनले भने ।

पूर्णिमा तिथिका दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा सूर्य र चन्द्रमा १८० डिग्रीमा हुन्छ । त्यसबेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्छ । त्यस्तो अवस्थामा पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ ।

पृथ्वी ठूलो भएकाले छायाँले चन्द्रमा पूरै ढाकिने भएकाले प्रायः खग्रास चन्द्रग्रहण लाग्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

शुक्रबारको चन्द्रग्रहणमा विभिन्न राशि भएका मानिसलाई फरक फरक फल दिने समितिले स्वीकृत गरेका पञ्चाङ्गमा उल्लेख गरिएको छ ।

मेष राशि भएकालाई सुख, वृषलाई माननाश, मिथुनलाई कष्ट, कर्कट स्त्री पीडा, सिंह सुख, कन्या चिन्ता, तुला व्यथा, वृश्चिक स्त्री प्राप्ति, धनु क्षति, मकर घात, कुम्भ व्यय र मीन राशि भएका मानिसलाई लाभ मिल्नेछ ।

यस आधारमा शुक्रबार रातिको चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुने समितिका सदस्यसचिव ढुंगेलले बताए । अन्य आठ राशि भएकाले हेर्न नहुने समितिको ठहर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *