समाचार
रेल, पानी जहाज, जनता अनि अभाव र मृत्यु

केपी ओलीले प्रधानमन्त्री बनेलगत्तै जनताको साना समस्याप्रति कहिल्यै पनि गम्भीर भएको पाइएको छैन । हरेक सार्वजनिक कार्यक्रममा उनी रेल ल्याउने र समुद्रमा नेपालको पानी जहाज चलाउने सपना बाँड्नमा व्यस्त देखिन्छन् ।
नेपालमा भारत वा चीनबाट रेल ल्याउने कुराको यदी कसैले विरोध गर्छ भने त्यो विकास विरोधी नै हो । रेल, पानी जहाज, घरघरमा ग्यास पाइपको कुरा गर्दा कसैले खिल्ली उडाउँछ भने त्यो मूर्ख नै हो ।
तर त्यो मूर्खभन्दा एक कदम अगाडि प्रधानमन्त्री केपी ओली हुन सक्छन्, जुन बेला काठमाण्डौको सडक र गल्लीमा बाढीले मान्छे बगाएर ज्यान लिन्छ, त्यसबेला पनि यदी रेल, पानी जहाज, घरघरमा ग्यास पाइपको कुरा गर्छन् भने ।
हरेक कुराको आवश्यकता समयले निर्धारण गर्छ । सही समयमा सही निर्णय भएन भने त्यसको कुनै अर्थ हुँदैन ।
नेपालमा हरेक वर्षा याममा झरी पर्छ र देशैभरी बाढी पहिरोको प्रकोप आउँछ भन्ने कुरा सायदै सबैलाई थाहा होला । यस वर्ष पनि बाढी र वर्षात् सुरुभएसँगै बाढी पहिरोको प्रकोपले जनता त्रसित भइसकेका छन् । तर सरकारको ध्यान रेल, पानी जहाज, घरघरमा ग्यास पाइपमा नै छ ।
हो, यही नै गल्ती हो, बाढीले जनता बगाइरहँदा रेल, पानी जहाज, घरघरमा ग्यास पाइपको कुरा गर्ने प्रधानमन्त्रीलाई मूर्खभन्दा माथि राख्ने कि नराख्ने ?
