खेलकुद
कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा, सेनेगल बाहिरियो

रूस – कोलम्बिया समूह एच को विजेता बन्दै रूस विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समारा एरिना रंगशालामा बिहीबार बेलुका सम्पन्न खेलमा सेनेगललाई १–० ले पराजित गरेसँगै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय गरेको हो।
कोलम्बियासँग पराजित सेनेगल भने समूह चरणबाटै घर फर्कन बाध्य भएको छ। यो समूहबाट जापानले उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ। जापान आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा पोल्याण्डसँग १–० ले पराजित भएपनि कोलम्बियाले सेनेगललाई हराएका कारण अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो। सेनेगलसँग समान ४ अंक भएपनि गोल अन्तरका आधारमा जापान छनोट भयो।
कोलम्बिया ६ अंकसहित समूह एचको विजेता बन्दा समान ४ अंक भएपनि जापान समूह उपविजेता रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो। यो खेलमा बराबरी गरेको भए सेनेगल अन्तिम १६ मा प्रवेश गर्नेथ्यो। कोलम्बियालाई समूह विजेता बनाउन खेलको ७४ औं मिनेटमा येर्री मिनाले निर्णायक गोल गरे। मिनाले कर्नरमा आएको बललाई हेडमार्फत गोल गरेका थिए।
खेलको १७ औं मिनेटमा कोलम्बियाका डभिन्सन सान्चेजले सेनेगलका साडियो मानेलाई डिबक्स भित्र लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए। तर कोलम्बियाका खेलाडीले अपिल गरेपछि रेफ्रिले भिडियो असिस्टेन्स रेफ्रि (भिएआर) को सहायता लिएका थिए। भिएआरमार्फत पेनाल्टी नदेखिएपछि कोलम्बिया भाग्यमानी सावित भयो। पहिलो हाफमा सेनेगलले कोलम्बियालाई दबाबमा राखेपनि दोस्रो हाफमा भने कोलम्बियाले उत्कृष्ट प्रदर्शन गरेको थियो।
खेलअवधिभर दुवै टोलीले गोल गर्ने केहि राम्रा मुभ बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। ७ पटक कोलम्बियाको पोस्टमा धावा बोलेपनि सेनेगल गोल गर्न असमर्थ रह्यो। कोलम्बियाका जेम्स रोड्रिगेन र राडामेल फाल्काओ र सेनेगलका साडियो मानेले भने सोचे अनुसारको खेल पस्कन सकेनन्।
जापानसँग २–१ ले स्तब्ध हुँदै प्रतियोगिताको सुरुआत गरेको कोलम्बियाले दोस्रो खेलमा पोल्यान्डलाई ३–० ले पराजित गर्दै नकआउट चरण प्रवेश सम्भावना ब्युँताएको थियो। कोलम्बियालाई अन्तिम १६ प्रवेशका लागि यो खेल जित्नैपर्ने दबाब थियो। बराबरीमा सीमित भए टोलीले अघिल्लो चरण प्रवेशका लागि समूहको अर्को खेलमा पोल्यान्डले जापानमाथि फराकिलो जित हात पारेको देख्नुपर्नेथ्यो।
त्यस्तै १६ वर्षपछि प्रतियोगितामा पुनरागमन गरेको सेनेगलले पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको थियो भने दोस्रो खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा जापानसँग अंक बाँढ्न बाध्य भएको थियो।


