खेलकुद

समूह सीमा पेरूलाई हराउँदै विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गर्ने फ्रान्सको लक्ष्य

विश्वकप फुटबलमा समूह सीअन्तर्गत दोस्रो खेलमा फ्रान्सले पेरूविरुद्ध प्रतिस्पर्धा गर्दै छ । फुटबल इतिहासमा दक्षिण अमेरिकन टिम पेरूले फ्रान्सविरुद्ध दोस्रोपटक भिड्न लागेको हो । यसअघि १९८२ मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सलाई पेरूले १–० ले पराजित गरेको थियो । त्यसपछि विश्वकपमा पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

नकआउटको लक्ष्य
फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो । पहिलो खेलमै ३ अंक बटुलेको फ्रान्सले नकआउट चरणलाई केही बलियो बनाएको छ । समूह सीको अन्तिम चरणको खेलअघि फ्रान्सले नकआउट चरणमा स्थान बनाउने लक्ष्य राखेको  । फ्रान्सले पेरूलाई हराएमा सीधै अन्तिम १६ मा पुग्नेछ । पेरूसँग पराजित भएमा अन्तिम खेल फ्रान्सका लागि सहज नहुन सक्छ । फ्रान्सले अन्तिम खेलमा डेनमार्कको सामना गर्नेछ ।

पेरूमाथि दबाब
पेरू २०१६ यता खेलेका १६ वटा खेलमा अपराजित रहेको थियो । तर, पेरूको अपराजित यात्रामा डेनमार्कले पूर्णविराम लगाइदियो । विश्वकपमा आफ्नो सम्भावनालाई कायमै राख्न पनि पेरूले फ्रान्सलाई हराउनुपर्नेछ । पेरू १९८२ पछि पहिलोपटक विश्वकपमा छनोट भएको राष्ट्र हो । ३६ वर्षपछि विश्वकपको यात्रा गरेको पेरू फ्रान्सविरुद्ध नयाँ इतिहास बनाउने संघर्षमा हुनेछ ।

फ्रान्स लयमा
विश्वकपको आफ्नो पहिलो खेलमा जित निकालेको फ्रान्सले पेरूविरुद्ध केही सहज महसुस गर्नेछ । फ्रान्सको दक्षिण अमेरिकन टिमविरुद्ध राम्रो इतिहास छ । फ्रान्सले १९७८ को विश्वकपमा अर्जेन्टिनाविरुद्ध २–१ ले पराजित भएयता कुनै पनि दक्षिण अमेरिकन टिमविरुद्ध हार बेहोरेको छैन । त्यसैले आफ्नो सोही इतिहासलाई कायम राख्ने ध्याउन्नमा फ्रान्स रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *